नाभाल्नीलाई रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग

रुसले विपक्षी नेता अलेक्सी नाभाल्नीलाई तत्काल रिहा गर्न जर्मनीका विदेश मन्त्री हैको माआजले आग्रह गरेका छन् । जर्मनीमा उपचारपछि स्वदेश फर्किएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरुले रुसको आलोचना गरेपछि विदेश मन्त्रीले रिहा गर्न आग्रह गरेका हुन् ।

अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नाभाल्नीलाई पक्राउ गरिएकोमा ट्विटरमार्फत टिप्पणी गरेका छन् ।

नाभाल्नीको रिहाको युरोपियन युनियन (इयु) द्धारा पनि माग भएको छ । क्रेमलिनका आलोचक ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए ।

उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो । गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकश्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो ।

फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको छ ।

उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाहअनुसार त्यहीँ आराम गरिरहेका थिए । रूसी प्रशासनले उनलाई स्वदेश फर्किएपछि पक्राउ गर्नसक्ने चेतावनीबीच उनी राजधानी मस्को गएका हुन् ।

क्रेमलिनको कट्टर आलोचक विपक्षी नेता नाभाल्नीले आफू निर्दोष रहेको र देशका लागि काम गरिरहेको भन्दै यसक्रममा आफूलाई पक्राउ गर्ने भनी आएका समाचारबाट आफू स्वदेश फिर्ता हुन नडराएकोे बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *