प्रधानमन्त्री कप क्रिकेटः विनोदको शतकको मद्दतमा आर्मी विजयी

काठमाडौं । कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार गण्डकी प्रदेश विरुद्धको खेलमा भण्डारीले अविजित १११ रनको पारी खेलेपछि आर्मी ९८ रनले विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २८७ रन बनायो ।

आर्मीका लागि भण्डारीले ७३ बल खेल्दै चार छक्का र नौ चौका प्रहार गरे । यस्तै राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्री र विशाल पौडेलले दुई दुई विकेट लिए ।

आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि समिर कँडेलले ५०, कप्तान विपिन खत्रीले अविजित ३७, अर्जुन कुमालले ३६ तथा दीपक डुम्रेले २६ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि राजेश पुलामी एक्लैले ५ विकेट लिए । उनले नौ ओभरमा एक मेडन राख्दै २५ रन मात्र खर्चिए । यस्तै भीम सार्कीले तीन तथा आकाश चन्द र रोहित पौडेलले एक एक विकेट लिए । शतक प्रहार गरेका आर्मीका भण्डारी म्यान अफ दी म्याच घोषित भए ।

शनिबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र प्रदेश नम्बर १ बीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ । सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् ।

दुवै समूहको शीर्ष दुई स्थान बनाउने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता भइरहेको छ । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *