USAID

सिमानामा झडप अस्पतालमा कोभिडको भिड, तनाबमा बित्यो विगत


शैलेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक
काठमाडौं । एकाएक कोरोना संक्रमण देशव्यापी रुपमा फैलन थालेपछि सरकारले गरेको तयारी पर्याप्त भएन । जनस्तरबाट सरकारको तयारीका बारेमा विभिन्न टिप्पणी हुन थाले । सरकारले तोकेर कोभिड अस्पताल नबनाएको भन्दै टिप्पणी हुन थालेपछि सरकारले राजधानीका तीन सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्ने निर्णय गर्यो ।
बलम्वुको सशस्त्र प्रहरी अस्पताल, टेकुको शुक्रराज ट्रपिकल अस्पताल र पाटन अस्पताललाई कोभिड अस्पताललको रुपमा रुपान्तरण गर्ने निर्णय भयो । निर्णय हुनु के थियो, ममाथि जिम्मेबारी बढ्यो, चुनौती थपियो ।
सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु मेरो पहिलो कर्तव्य थियो भने सशस्त्र प्रहरी अस्पतालबाट आफ्ना मातहतका कर्मचारी तथा उनीहरुका सन्ततीले पाउँदै आएको स्वास्थ्य सेवा कसरी सुचारु गर्ने भन्ने चिन्ता थपिनु स्वाभाविकै थियो । कोभिट संकट व्यवस्थापन समिति (सीसीएमसी) मा चारै सुरक्षा निकाय र स्वास्थ्य मन्त्रालयका विज्ञहरुले मुलुकमा देखिएको संकटलाई कसरी समाधान गर्ने भन्ने चिन्तालाई दुर गर्नु थियो ।
तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिले सशस्त्र प्रहरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने र उक्त अस्पतालमा २० वटा आइसीयु थप गर्ने निर्णयपछि मैले तत्कालै अस्पतालका चिकित्सको टोलीलाई बोलाएर निर्देशन दिएँ– यो समय भनेको हाम्रा लागि अग्नी परीक्षा हो, हिजो के भएको थियो भन्नेतिर नजाऊ, अब यो चुतौतीसँंग जुधेर नेपाली जनताको सुरक्षाका साथै स्वास्थ्य समस्यालाई समेत समाधान गर्दै जानुपर्दछ भनें ।
ममाथि दोहोरो दवाव बढ्दै थियो । सरकारले अन्तर्राष्ट्रिय सीमा शील गरेको थियो । त्यसको सहज व्यवस्थापन र कोभिड अस्पतालमा सेवा लिन आउनेहरुका लागि दिने सेवा प्रभावकारी र चुस्त–दुरुस्त बनाएर नेपालकै नमुना अस्पताल बनाउनु थियो ।
सीमा क्षेत्रमा सरकारले शील गरेपछि नेपाल प्रवेश गर्नेहरु दिनहुंँजस्तो झडप गर्ने अवस्थामा पुगेका थिए । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि त्यसको समाधानका लागि चालिने कदमका विषयमा हुने दैनिक बैठक पनि भ्याउनैपथ्र्यो ।
आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागि व्यवस्थापन गर्नुपर्ने चिन्ताले सताइरहेको बेला नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले छाउनीस्थित सैनिक अस्पतालमा ननकोभिड सशस्त्र प्रहरी कर्मचारीको उपचार गर्ने घोषणा गरेपछि भने राति सुत्न पाउने अवस्था आयो । वास्तवमा म प्रधानसेनापतिले देखाएको उदारतालाई हृदयदेखि नै धन्यवाद दिन्छु ।
म सशस्त्र प्रहरी मुख्यालयमा बसेर निर्देशन दिने तर अस्पतालमा कस्तो उपचार भइरहेको छ त्यसको बारेमा आफैले निरीक्षण नगर्ने हो भने त्यहांँको अवस्था थाहा हुने थिएन, अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुको अवस्था बुझ्न आफै अस्पताल पुग्नु आवश्यक थियो ।
त्यहांँ उपचारत सबैसंँग सुरक्षाका सबै उपाय अवलम्वन गरेर भेट गर्नेगर्थें । झण्डै ३ घन्टा अस्पतालमा उपचारत बिरामीसंँग प्रत्यक्ष भेटेर कुरा गर्दा महाशुस भयो, अहिले सम्म गरेको मेहनतले काम गरेको रहेछ ।
अस्पतालले दिने सेवामा कुनै कन्जुस्याई नगर्न बारम्बार निर्देशन दिइरहेको हुन्थे । आफ्ना कर्मचारीको सामान्य उपचार गर्न कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले मलाई सताइरहन्थ्यो । अवस्था जटिल थियो, गृह मन्त्रालयसँंग समन्वय गरेर सशस्त्र प्रहरी मुख्यालयमा लेभल १ अस्पताल निर्माण गरी कर्मचारीहरुलाई सेवा दिने सोच बनाएको थिएँ, जसले मूर्त रुप लियो । अहिले पनि यही जोस र तदारुकताका साथ अस्पताल सञ्चालनमा छ ।
कोरोना संक्रमणकै बीचमा सीमा क्षेत्रमा रहेको बोर्डर आउट पोष्ट (बिओपी) को निरीक्षण गर्दा आफ्ना मातहतका कर्मचारीलाई कोरोना संक्रमणका बारेमा जानकारी गराउनुका साथै सर्वसाधारण नागरिकलाई समेत त्यसबाट बच्ने उपाय र संक्रमित भए आफ्ना मातहतका युनिटले उद्धार गरेर अस्पताल पुर्याउने विधिका बारेमा पनि जानकारी गराउँथें ।
मुलुकको शान्ति सुरक्षाका साथै सरकारले दिएको जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा पाएको सकारात्मक सन्देशले काम गर्न थप उर्जा मिलेको मैले महशुस गरेको छु । सशस्त्र प्रहरीले शान्ति सुरक्षा मात्र होइन राज्यले दिएको जिम्मेवारी पूरा गर्न सक्दो रहेछ भनेर प्रमाणित गर्न सकेको, जनविश्वास आर्जन गर्न पाएकोमा मलाई प्रसन्नताको अनुभूति हुन्छ ।
म एउटा अभिभावक पनि हुंँ, संगठन प्रमुख भएपछि आफ्ना मातहतका कर्मचारी कसरी बसेका छन् कसरी काम गरेका छन्, त्यो मैले हेर्नैपर्छ । भौतिक अवस्थादेखि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनसमेत मैले कोरोना कहरकै बीचमा देशका बिभिन्न क्षेत्रको भ्रमण गरें ।
राजधानीमा कोरोना संक्रमित अत्यधिक बढ्न थालेपछि महामारीले भयावह रुप लिने संकेत देखियो । अस्पताल परिसरमा रहेको सशस्त्र प्रहरी महिला ब्यारेकलाई ६० बेडको आइसोलेसन सेन्टर तत्कालै निर्माण गर्न लगाएँ, सो सञ्चालनमा पानि आयो । यी सबैको अनुभव सुनाउन लायककै छ । अहिले अवस्था सामान्य बन्दै गएपछि अस्पतालले कोभिड र नन कोभिड बिरामीको छुटछुट्टै रुपमा उपचार गर्न शुरु गरेको छ ।

सक्रिय निर्देशन सफलताको कारण
सरकारले सशस्त्र प्रहरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेपछि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पूर्वाधार निर्माणको बेलादेखि पटक–पटक निरीक्षण गरेर कामको बारेमा जानकारी लिंदै तोकिएको समयमा नै काम सम्पन्न गर्न निर्देशन दिएका कारण अस्पतालले सफलता पाएको त्यहाँ कार्यरत चिकित्सकहरु बताउँछन् ।
इन्टरनल मेडिसिन चिकित्सक अपूर्व श्रेष्ठ भन्नुहुन्छ– आज देशभर हाम्रो अस्पतालका बारेमा जति पनि सकारात्मक प्रतिक्रिया आएका छन् महानिरीक्षक खनालकै सक्रियता र सक्षम नेतृत्वका कारण भएको हो । अस्पतालबाट दिने सेवामा कुनै कमी आउन नदिन उहाँंले पटक–पटक अस्पतालको निरीक्षण गर्नुभएको थियो । उहाँंको कार्यशैली देखेर हामी अस्पतालमा काम गर्ने चिकित्सकसमेत प्रभावित भएका छौं ।
शुरुमा १ सय १० बेडको स्वीकृति आएको सशस्त्र प्रहरी अस्पताल कोभिड अस्पतालमा रुपान्तरण भएपछि १ सय २० कोभिड बेड, ५० हाई केयर बेड, २० आईसीयु बेड र १० भिआईपी बेड सञ्चालनमा छन् । कोभिड अस्पतालमा रुपान्तरण हुनुभन्दा अघिसम्म भौतिक पूर्वाधारको अभाव रहेको सो अस्पतालमा अहिले आफ्नै अक्सिजन प्लान्टदेखि आईसीयु बेडसमेत थपिएर सुबिधासम्पन्न हुनुमा महानिरीक्षक खनालको अथक प्रयास रहेको सोही अस्पतालका डा. रोशन झा बताउनुहुन्छ ।
सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित भएर उपचारकालागि भर्ना भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको अनुभव प्रेरक छ । सरकारी अस्पतालमा त्यसमा पनि कोरोना संक्रमितको उपचारमा त्यहांँको चिकित्सकले दिएको सेवालाई जति प्रशंसा गरेपनि कम हुने उहांँ बताउनुहुन्छ । अस्पताल भनेको त्यस्तो हुनुपर्दछ, जहांँ बिरामी चिकित्सकलाई भगवान सम्झेर पुज्ने गर्दछन्, सशस्त्र प्रहरी अस्पतालले कुरा काट्ने ठाउंँ बाँकी नराखेको कलाकार गजुरेल बताउनुहुन्छ ।
सशस्त्र प्रहरी अस्पतालमा अहिले ८६ जना चिकित्सक, ५५ जना परिचरिका, प्यारा मेडिक १सय ५० जना कार्यरत रहेका छन । कोरोना संक्रमितको उपचारमा खटिएका १० जना चिकित्सक, ५ जना परिचारिका र १० जना प्यारा मेडिक कोरोना संक्रमित छन् ।
सो अस्पतालले हालसम्म ३ हजार १ सय ६० जना कोरोना संक्रमितको उपचार गरिसकेको छ । अस्पतालले २ हजार २ सय ७६ जना सर्वसाधारणको उपचार गरेको छ भने संक्रमित सशस्त्र प्रहरी ७ सय ९३ जना, नेपाल प्रहरी ७६ जना र नेपाली सेनाका २० जनाको उपचार भएको छ ।
अस्पताल आएका कोरोना संक्रमित मध्ये २ सय ४२ जनाको आइसीयुमा उपचार भएको थियो । गत बर्षको चैत ९ गते देखि कोभिड अस्पतालमा रुपान्तरण भएको सो अस्पतालमा उपचार गराउन आएका ५८ जनाको मृत्यु भएको डा. प्रविण नेपालले जानकारी दिनुभयो ।
अस्पतालले हाल सम्म १७ करोड भन्दा बढी खर्च गरी सकेको छ भने अहिले सम्म १५ हजार २ सय ७५ जनाको पिसिआर टेष्ट गरी सकेको छ ।

प्रस्तुतिः दीपक रिजाल

नेपाल समाचारपत्र दैनिकबाट


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *