इञ्जा पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले एक लाख रुपैयाँ राशीको इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड र एक लाख रुपैयाँ राशीको नै इञ्जा कम्युनिटी जर्नालिज्म अवार्डका लागि नेपाली पत्रकारहरुवाट निवेदन आह्वान गरेको छ ।

यसैगरी एक लाख रुपैयाँ राशीको उत्कृष्ट साहित्यिक पुरस्कारका लागि सिफारिस गर्न समेत इञ्जाले पाठकहरुलाई आह्वान गरेको छ । पत्रकारिता सम्वद्ध दुवै पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले सन् २०२० मा प्रकाशित वा प्रसारित आफ्नो समाचारको कपि वा लिंकसमेत निवेदन साथ जनवरी ३० भित्र पेश गर्नुपर्ने इञ्जाले जनाएको छ ।

पत्रकारहरुवाट प्राप्त निवेदनहरुलाई इञ्जाद्वारा गठित निर्णायक समितिले अध्ययन गरी फेवु्रअरी १५ मा पुरस्कार प्राप्त गर्ने पत्रकार तथा समाचार माध्यमको नाम सार्वजनिक गर्नेछ भने इञ्जाले मार्च १ मा आफ्नो स्थापना दिवसको उपलक्ष्यमा आयोजना गर्दै आएको इञ्जा डे को अवसरमा काठमाडौंमा एक समारोह आयोजना गरी सो पुरस्कार हस्तान्तरण गर्ने इञ्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिए ।

पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले आफूलाई उत्कृष्ट लागेका तीनवटा समाचारलाई प्रतिस्पर्धाका लागि समावेश गर्न सक्ने प्रावधान इञ्जाले वनाएको छ । गतवर्ष इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयवावु सिवाकोटी र इञ्जा कम्युनिटी जर्नालिज्म अवार्ड अछामकी मेनुका ढुंगाना र वाजुराका प्रकाश सिंहले प्राप्त गरेका थिए ।

इञ्जाले एक लाख रुपैयाँ राशीको यो वर्षको उत्कृष्ट साहित्यिक पुरस्कार पनि इञ्जा डेको अवसरमा नै हस्तान्तरण गर्ने भएको छ । उत्कृष्ट साहित्यिक पुरस्कार सन् २०२० प्रकाशित उत्कृष्ट नेपाली साहित्यिक कृतिका सर्जकलाई प्रदान गर्ने इञ्जाले जनाएको छ । यो पुरस्कारका लागि सर्जकवाट आवेदन नलिइ पाठकहरुलाई आफूलाई उत्कृष्ट लागेको कृति सिफारिस गर्न इञ्जाले पाठकहरुलाई आग्रह गरेको छ ।

पाठकहरुले सिफारिस गरेका उत्कृष्ट दश कृतिहरुलाई इञ्जाद्वारा गठित निर्णायक समितिले अध्ययन गरी एक कृतिका सर्जकलाई सो पुरस्कार प्रदान गरिने इञ्जा अध्यक्ष लुइटेलले जानकारी दिए । इञ्जाले पत्रकारिता पुरस्कारको निवेदन र साहित्यिक कृतिको सिफारिस info@innja.org, injaglobal@gmail.com इमेलमा पठाइदिन समेत आह्वान गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *