रसुवाका पर्यटकीय क्षेत्रका होटल पुनः सञ्चालन

रसुवा । हिमाली क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् । बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो समय फाट्टफुट्टरूपमा आन्तरिक पर्यटक आउन थालेकाले लामो समय बन्द रहेको पर्यटकीय एवं व्यापारिक मार्गका होटल तथा लजले आफ्ना नियमित सेवा दिन थालेका हुन् ।

धुञ्चेदेखि लाङटाङ तथा गोसाइँकुण्ड, तामाङ सम्पदामार्ग, नेपालको उत्तरी नाकाको रसुुवागढीलगायत हेलम्बु, डाडेपाटीलगायतका स्थानमा सञ्चालित करिब २०० पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आइसकेको होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए ।

हिमाली जिल्ला रसुवामा कोरोनाको खासै प्रभाव नपरेको र पर्यटकीय क्षेत्रको बढी हिस्सा ओगटेको गोसाइँकुण्ड गाउँपालिकाभित्र रहेका निजी तथा सरकारी विद्यालयले समेत बालबालिकाकोे नियमित पठनपाठन निर्वाधरूपमा पुनः सञ्चालन गराइसकेकाले रोगप्रति आशङ्का गर्ने ठाउँ नभएको होटल तथा पर्यटन व्यवसायी सङ्घले स्पष्ट पारेको छ ।

पर्यटकका लागि सेवा दिन अहोरात्र तल्लीन यहाँका व्यवसायीले कोरोनाको सङ्क्रमण शुरू भएयता मासिक छ करोड ७० लाख घाटा व्यहोर्दै जानुपरेको अवस्थामा पाहुनाको आगमनले केही आशा पलाउँदै गएको होटल तथा लज सञ्चालकले बताएका छन् । कोरोनाको असरले यस भेकमा पर्यटनसँग जोडिएका ७० भन्दा बढी पथ प्रदर्शक एवं करिब ४०० मजदुरसमेत बेरोजगार बन्न पुगेको सङ्घका पदाधिकारीले निचोड निकालेका छन् ।

माओवादी द्वन्द्व र विसं २०७२ को विनाशकारी भूकम्पभन्दा अहिलेको कोरोनाको असरले पर्यटन व्यवसायी जटिलरूपले धरासायी मोडमा पुगेको उनीहरूको ठूलो गुनासो बढेको पाइन्छ । एक सयको हाराहारीमा रहेका ससाना साधारण होटल पनि कोरोनाको असरले ठूलो मर्कामा परेका छन् ।

व्यवसायमार्फत पर्यटकलाई प्रदान गरेको सेवाबाट प्राप्त आयले बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाई जीविकोपार्जनमा सरलता ल्याउने ठूलो अभिलाषाका साथ होटल तथा लज सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था र गाउँघरका साहुबाट लिइएका ऋणको साँवा तथा ब्याजका किस्तासमेत तिर्ने उपाय नभएको होटल तथा पर्यटन व्यवसायी सङ्घले जनाएको छ ।

पाहुनालाई खानेबस्ने सुविधा पुर्याउन भाडामा घर लिने व्यवसायीले मासिक ५० हजारदेखि डेढ लाखसम्म घरधनीलाई तिर्नुपर्ने बाध्यता भएकाले आन्तरिक पर्यटनको प्रवद्र्धनलाई बढावा दिन माग गरिएको लाङटाङका व्यवसायीले बताएका छन् । काबुभन्दा बाहिरको परिस्थितिले उत्पन्न गराएको आर्थिक सङ्कट समाधान गर्न राहत वा निश्चित अवधिका लागि निब्र्याजी ऋण उपलब्ध गराई नेपालको दोस्रो पर्यटकीय क्षेत्रका व्यवसायीलाई उत्थान गरिदिन सरकारसमक्ष आग्रह गरिएको उक्त सङ्घका अध्यक्ष गजुरेलले बताए ।

पर्यटकको आगमन बन्द भएपछि यहाँका कृषि तथा फलफूलका साथै करेसाबारीमा सागसब्जी उत्पादन गराउने, चौँरी पालेर दुग्ध उत्पादन गर्ने किसानसमेत ठूलो मर्कामा परेका छन् ।

राजधानीको नजिक रहेको हिमाली क्षेत्र धुञ्चेबाट नजिकै देख्न सकिने लाङटाङ हिमाल, पवित्र तीर्थ गोसाइँकुण्ड, गणेश हिमाल, पर्वतीकुण्ड, नेपालको पहिलो तामाङ सङ्ग्रहालय, कुण्ड, ताल, झरना, हरिया वनस्पतिलगायतका जैविक विविधताले भरिपूर्ण स्वच्छ वातावरण भएको क्षेत्रमा भ्रमण गरी हिमाली प्रकृतिका छटाको रसास्वादन लिइदिन र यहाँका व्यवसायीलाई हौसला बढाइदिन पाहुनामाझ पर्यटन सङ्घले निम्तोसमेत गरेको छ ।

शिशिर ऋतुको हिमपातले चारैतिर सेताम्य हिजोआज सबैको मन लोेभ्याउन थालिसकेको र धुञ्चे क्षेत्रमात्रै पुग्दा पनि घले राजाले वासस्थान लिएको ऐतिहासिक स्थान, गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनका लागि शिवपादुका कुण्डको स्नान, तामाङ सङ्ग्रहालयको अवलोकन गर्न सकिने बताइएको छ । आगन्तुक पाहुनाको सुविधाका लागि शौचालयसहितको स्तरीय सुत्ने कोठा, न्यानो कपडा, तातो चिसोपानी, वाइफाइ, टेलिभिजनको सुविधा र मागअनुसारका मिठास भोजन तयार हुने व्यवसायी ढिण्डुप तामाङ बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *