कलङ्की–नागढुङ्गा–पिपलामोडमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाइने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउने भएको छ ।

नगरपालिकाले कलङ्की–नागढुङ्गा–पिपलामोड सडकमा जथाभावी रुपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार, विज्ञापन ब्यानर, पम्प्लेटले नगरपालिकाको सौन्दर्यता बिग्रँदै गएको र सडक क्षेत्र कुरुप बन्दै गएको भन्दै हटाउन लागेको हो ।

नगरपालिका काठमाडौँ प्रवेशद्वारको मुख्य नाकासमेत भएकाले यस क्षेत्रमा धेरै विज्ञापन ब्यानर र पम्प्लेट राखिएका छन् । चन्द्रागिरिमा काठमाडौँ भित्रिने पृथ्वी राजमार्गको ११ किलोमिटर सडक पर्दछ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले सुन्दर चन्द्रागिरि निर्माणका लागि राजमार्ग क्षेत्रमा जथाभावीरुपमा राखिएका विज्ञापन ब्यानर, पम्प्लेट र अव्यवस्थित राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार हटाउन लागेको जानकारी दिए । “नगरपालिकाको अनुमति बेगर अव्यवस्थितरुपमा राखिएका ब्यानर सात दिनभित्र नहटाए नगरपालिकाले हटाउँछ र हटाउन लाग्ने खर्च सम्बन्धित कार्यालयबाट असुल उपर गरिनेछ”, नगरप्रमुख गिरीले भने ।

नगरपालिकाले नयाँ सेवा प्रदायक कम्पनी वा संस्थालाई नगरपालिकाको स्वीकृत लिएर मात्र सेवा प्रदान गर्न आग्रह गरेको छ । नपाले यसअघि उक्त राजमार्ग क्षेत्रमा एक करोडको लागतमा ६७ अत्याधुनिक सिसी क्यामरा जडान गरिसकेको छ । यस्तै आगामी महिनामा सो राजमार्ग क्षेत्रमा ५०० बत्ती जडान गर्ने कार्यक्रम रहेको नगरप्रमुख गिरीले बताए ।

सो नगरपालिका वाग्मती प्रदेशको सबैभन्दा ठूलो नगरपालिका हो नगरपालिकामा १५ वडा रहेका छन् । पन्ध्र वडामध्ये कलङ्की–नागढुङ्गा–पिपलामोड क्षेत्रमा ११ वडा पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *