मध्यरातमा इलामका स्थानीयले लखेटे भारतीय सीमा सुरक्षा बल

इलाम । मध्यरातमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा पिलर गाडेपछि स्थानीयबासीले मध्यरातमै एसएसबीलाई लखेटेका छन् । जिल्लाको सूर्योदय नगरपालिकास्थित हिलेमा आइतबार राति पिलर गाडेको स्थानीयले थाहा पाउनेबित्तिकै त्यहीं पुगेर स्थानीयले प्रतिकार गरेर लखेटेका हुन् ।

स्थानीयसँगै सशस्त्र प्रहरीको टोली पुगेपछि एसएसबी पछि हटेको थियो । एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ले देखाएको ठाउँ भन्दै नेपाली भू–भागपट्टि पिलर गाड्ने प्रयास गरेको थियो । तर राति नै स्थानीयबासी र सशस्त्र प्रहरी पुगेर विरोध गरेपछि एसएसबी पछि हटेको सशस्त्र प्रहरी बल पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बीओपी) का इन्स्पेक्टर नवीन खतिवडाले बताए ।

सीमाक्षेत्रमा राखेको एसएसबीको पोस्टमा नयाँ नेतृत्व आएपछि पिलर गाड्ने प्रयास गरेको बताइएको छ । गत वर्ष हिले क्षेत्रकै नेपाली भूभागमा एसएसबीले नाली खनेपछि विवाद भएको थियो । भारतीय पक्षबाट सीमा पिलर नम्बर ७१ र ११ देखि ७२–२५ बीचको दशगजा भूभागमा एसएसबीले मिसिङ पिलर रहेको भन्दै अतिक्रमण गर्न खोजेको थियो ।

यता पिलर गाड्न खोज्ने एसएसबीले गल्ती स्वीकारेको छ । दुवै पक्षका सुरक्षा निकायका प्रमुखबीच सोमबार छलफल भएको थियो । छलफलमा बिनासूचना दशगजा क्षेत्रमा पिलर गाड्नु गल्ती भएको स्वीकारेको इन्स्पेक्टर खतिवडाले जानकारी दिए । छलफलमा आगामी दिनमा एकपक्षीय रुपमा बिनासूचना गतिविधि नदोहो¥याउने प्रतिबद्धता एसएसबीले जाहेर गरेको छ ।

छलफलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउकुमार लिम्बूको नेतृत्वमा १२ जना र सशस्त्रका इन्स्पेक्टर खतिवडाको नेतृत्वमा १४ जनाको टोली हिले क्षेत्रमा गएको थियो । छलफलपश्चात एसएसबीको तर्फबाट असिस्टेन सबइन्स्पेक्टर दिवांकर विश्वासको कमान्डमा खटिएको टोलीसँग नेपाली सुरक्षा टोलीले संयुक्त सीमा निरीक्षण गरेको खवर नेपाल समाचारपत्रले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *