चार वर्षमा पनि सकिएन जैसीदेवल पुनर्निर्माण

पूर्णप्रसाद मिश्र, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनर्निर्माण शुरु भएको चार वर्ष पूरा भए पनि अझै सम्पन्न हुन सकेको छैन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनर्निर्माण पुरातत्व विभागले २०७३ साउनमै शुरु गरेको हो । सार्वजनिक जानकारीका लागि पुनर्निर्माण गर्दा निर्माणस्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यवसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखी अपारदर्शी काम भएको काठमाडौँ महानगरपालिका–२१ का पूर्व वडाध्यक्ष जुजुकाजी तण्डुकार बताउँछन् ।

“नेपाल संवत् ७०४ मा बनेको देवलको पुरानै इँटा प्रयोग गरेर काम शुरु भएको छ, निर्माणस्थलमा सार्वजनिक जानकारीका लागि राख्नुपर्ने सूचना पाटी राखिएको छैन, निर्माणअघि स्थानीयवासीसँग छलफलसमेत गरिएन, निर्माणपछि निर्माण व्यवसायी त अन्त्यै जान्छन्, निर्माणमा स्थानीयको स्वामित्व हुनुपर्छ”, देवलअघिको किराना पसलबाट पुनर्निर्माणको सूक्ष्म अवलोकन गरिरहेका उनले भने ।
देवल पुनर्निर्माण गरिरहेको निर्माण व्यवसायीले माजुदेगः र दशअवतार मन्दिरसमेत पुनर्निर्माण गरिरहेकाले गत वर्ष चैतदेखि काम हुन सकेको छैन । माजुदेगः काठमाडौँ महानगरपालिकाको ठेक्कामा व्यवसायीले ठेक्का पाएको हो । दश अवतार मन्दिर भने विभागकै ठेक्कामा यही निर्माण व्यवसायीले जिम्मा पाएको हो । वरिपरि फलामको ठण्डी ठड्याएर राखेको १० महिनासम्म अलपत्र भएको स्थानीयवासी सुनमाया श्रेष्ठले गुनासो गरिन् ।

यस क्षेत्रकै तीनवटा सम्पदा पुनर्निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले कुनै पनि काम समयमा गरको छैन । २१ नम्बर वडा सदस्य न्हुच्छेदेवी महर्जन फलाम ठड्याएर राखे पनि काम भएको नदेखिने बताउँछिन् । ठेक्का गर्ने सरकारी निकाय र निर्माण व्यवसायीले समेत वडासँग समन्वय नगरेको जनप्रतिनिधिको भनाइ छ ।

पुनर्निर्माणमा पुराना सामग्रीको प्रयोग

विभागले पुराना निर्माण सामग्री टिकाउ हुने भएकाले प्रयोग गरिएको जनाएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवर अनुसन्धानले प्राचीन निर्माण सामग्री टिकाउ हुने प्रमाणित गरेको बताउँछन् । कति पुराना र कति नयाँ सामग्री राखेर पुनर्निर्माण गर्ने भन्ने पारदर्शीरुपमा स्थानीयवासीलाई जानकारी गराइएको छैन ।

देवल निर्माण हेर्नुहुने विभागका इन्जिनीयर पूर्णबहादुर श्रेष्ठ निर्माण व्यवसायीसँग भएको सम्झौताअनुसार जीर्ण नभएका सामग्री प्रयोग गर्न सकिने व्यवस्था गरिएको सुनाउँछन् । “निर्माण अवधि, निर्माण लागत, निर्माण व्यवसायीको नामलगायत जानकारी दिने सूचना पाटी राख्न पटकपटक भनिए पनि व्यवसायीले राखेका छैनन्”, उनले भने ।

निर्माण कम्पनी प्राकृतिक/सानो सुवाल/एसपी जेभीले देवल पुनर्निर्माण गरिरहेको हो । व्यवसायीका तर्फबाट देवल निर्माणमा खटिनुभएका इन्जिनीयर प्रवीण श्रेष्ठ भने सूचना पाटी राखेकामा रक्सी खाएका मानिसले लिएर हिँडेको दाबी गर्छन् । निर्माणमा संलग्न दुई इन्जिनीयरको भनाइले अपारदर्शीरुपमा निर्माण शुरु भएको प्रस्ट हुन्छ । “देवल पुनर्निर्माणमा पुराना र नयाँ दुवैथरि निर्माण सामग्री प्रयोग गर्ने सम्झौता भएको छ, नयाँ ८० र पुराना २० प्रतिशत सामग्री प्रयोग गर्ने सम्झौतामा उल्लेख छ, तलदेखि माथिसम्म नयाँ र पुराना दुवैथरि निर्माण सामग्री मिसाएर काम हुन्छ”, उनले भने ।

विसं २०७४ असार मसान्तसम्म देवल पुनर्निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख थियो । विसं २०७३ साउन २८ गते देवल पुनर्निर्माणको सम्झौता भएको थियो । सम्झौता भइसकेपछि बेलायतको दुरहाम विश्वविद्यालय र विभागलगायतको समूहले देवल क्षेत्रमा उत्खनन गरेपछि काममा ढिलाइ भएको निर्माण व्यवसायी पक्षको भनाइ छ । देवल पुनर्निर्माणको लागत पाँच करोड ४६ लाख ६० हजार ७२८ छ ।

देवलको ऐतिहासिकता

देवल नेपाल संवत् ७०४ मा कान्तिपुर राज्यका बडाहाकिम लक्ष्मीनारायण जोशीले निर्माण गर्नुभएको हो । जोशीदेवल हुँदै कालान्तरमा अपभ्रंश भई जैसीदेवल नाम रहन गएको भनाइ छ । ककनी, रानीपौवा, जीतपुरफेदी, दगुर्नेपानीदेखिका जैसी बाहुनको निधन हुँदा शव टेकुमा जलाउन ल्याउँदा यहाँ बसेर कपाल काट्ने, सेतो कपडा फेर्ने, सक्खर, दही चिउरा खाने गरेकाले पनि यो देवललाई जैसीदेवल नामकरण गरिएको भनाइ छ ।

विसं १९८९ मा देवशम्शेरले देवलको जीर्णोद्धार गरेपछि यसलाई देवजागेश्वर महादेव पनि भन्न थालिएको स्थानीयवासी ८६ वर्षीय वृद्ध शङ्करमान रञ्जितकारले जानकारी दिए । त्यसअघि देवलमा स्थापना गरिएको महादेवलाई जागेश्वर महादेव भनिन्थ्यो । विसं २०१५ मा अञ्चलाधीश विष्णुमणि आचार्यको नेतृत्वमा स्थानीयवासीले फेरि देवलको जीर्णोद्धार गरे । त्यतिबेला जीर्णोद्धारको काममा संलग्न हुनेलाई अञ्चलाधीश कार्यालयले ज्यालास्वरुप गहुँ दिएको उनको स्मरणमा ताजा छ ।

जीर्णोद्धारपछि त्यसै वर्ष तत्कालीन महारानी रत्नराज्यलक्ष्मीले तीन हजार लिटर पानी अट्ने सिमेन्टको पानी ट्याङ्की बनाइदिएको बताइएको छ । विसं २०४५ को भूकम्पले चर्किएको देवल २०६३ सालसम्म बन्न नसकेपछि स्थानीयवासीको सक्रियतामा विभाग र काठमाडौँ महानगरपालिकाको सक्रियतामा २८ लाखको लागतमा जीर्णोद्धार भएको थियो ।

तत्कालीन समयमा बचेको पैसाले नजीकैको कृष्णमन्दिर पनि जीर्णोद्धार गरिएको पूर्ववडाध्यक्ष तण्डुकारले सुनाए । रातो मच्छेन्द्रनाथ राख्ने उद्देश्यले निर्माण गरिएको देवलमा पछि नराखिएको जैसीदेवल युथ क्लबका सदस्य राजेन्द्र मानन्धरले बताए । भक्तपुरको पाँचतले मन्दिर पनि रातो मच्छेन्द्रनाथ राख्नकै लागि बनाइएकामा पछि पाटनमा राखिएको स्थानीयवासीको भनाइ छ । रातो मच्छेन्द्रनाथ पाटनमा राखिएपछि यस ठाउँ जोशी एवम् जैसी देवलकै रुपमा प्रसिद्ध भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *