भारतमा कोभिड-१९ का दुई खोपलाई आपतकालीन अनुमति

भारतको औषधि नियामकले दुई वटा कोभिड-१९ विरुद्धका खोपलाई आपतकालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ । ती खोपहरू अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिन छन् ।

ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले कोभिसिल्ट खोप ७०.४२ प्रतिशत प्रभावकारी रहेको बताएका छन् । कोभ्याक्सिन भने भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर तयार पारेको हो ।

डीसीजीआईका निर्देशक डा. बिजी सोमानीले कोभ्याक्सिन सुरक्षित रहेको र त्यो प्रतिरक्षा क्षमता बलियो बनाउन सक्षम रहेको जनाएका छन् । उक्त निर्णयपछि प्रधानमन्त्री नरेन्द्र मोदीले डीसीजीआईको ट्विटरमार्फत ’बधाई भारत’ भन्दै देशलाई कोरोनामुक्त पार्न सघाउने बताएका छन् ।

यसअघि शुक्रवार सिरम इन्स्टिच्युटको कोभिशिल्ड खोपको लागि समेत यस्तै स्वीकृति दिइएको थियो । विज्ञ समूहले खोपको सुरक्षा र प्रतिरक्षाको तथ्याङ्क मूल्याङ्कन गरेर सार्वजनिक हितका लागि आपत्कालीन स्थितिमा प्रतिबन्धित उपयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो ।

अन्य खोपको परीक्षण पनि जारी रहने बताइएको छ । कोभिशिल्ड र कोभ्याकसिन दुवै खोपहरू दुई खेपमा दिइनेछ। जसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने बताइएको छ । भारतमै कैडिला हेल्थकेयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परिक्षणका लागि अनुमति दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *