प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्यामाः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताएका छन् । गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई शुक्रबार सम्बोधन गर्दै सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर स्थानीय तहसम्म पुगेको बताएका हुन् ।

“जनताबाट झण्डै दुई तिहाइ मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ, प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो”, उनले भने । वर्तमान सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको पनि उनले लगाए ।

विघटित प्रतिनिधिसभाका सदस्य सिंहले नगरपालिकाका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर गोकर्णेश्वर नमूना नगरपालिका निर्माणमा लाग्नुपर्ने बताए ।

काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जनता र जनप्रतिनिधिबीच राम्रो समन्वय भएकाले स्थानीय तहले विकासनिर्माणमा राम्रो फड्को मारेको विचार व्यक्त गरे । वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामालगायतले गोकर्णेश्वरको विकासका लागि सबै एक जुट हुनुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *