काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तारकेश्वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौं–१६, म्हैपीबाट ४ जना गरी मोटरसाइकल चोरी गर्ने ५ जनालाई पक्राउ गरेको ट्राफिक महाशाखाले जनाएको छ ।
धर्मस्थलीबाट नुवाकोट काउले गाउँपालिका–५ घर भई हाल काभ्रेस्थली बस्ने रमेश तामाङलाई प्रदेश ३–०२,०१६प३८०४ नम्बरको रातो रंगको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । उक्त नम्बरको मोटरसाइकल गत कार्तिक २ गते खुमलटारबाट हराएको महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै, म्हैपीबाट नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ घर भई काठमडौं झोर बस्ने किरण लामा, दुप्चेश्वरका क्षितिज तामाङ, नुवाकोट सूर्यगडी गाउँपालिका–१ का दीपक तामाङ र बारा करैया गाउँपालिका–४ का गंगा चौधरीलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उनीहरूको साथबाट प्रदेश ३–०२–०१५प३६०४ नम्बरको कालो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पक्राउ परेकोमा उक्त मोटरसाइकल वास्तविक नम्बर बा९८प ३९७६ रहेको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ । उक्त मोटरसाइकल तारकेश्वर नगरपालिका–५ गोल्ढुंगाबाट हराएको थियो ।