USAID

“दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौँ । दक्षिण एशियाको जलश्रोत र नेपाल दृष्टि विषयक अन्तर सम्वाद कार्यक्रम आज राजधानीमा सम्पन्न भएको छ । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टको आयोजनामा बिहीबार दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि विषयक अन्तरक्रिया सम्पन्न भएको हो ।

जलस्रोतका क्षेत्रमा लामो समयदेखि अध्ययन, अनुसन्धान, बहस गर्दै आएका विज्ञहरुको सहभागितामा सम्पन्न भएको सो अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको जलस्रोतमाथि धेरै विदेशी राष्ट्रहरुले आँखा गाडेको बताए । नेपाल आफैले आफ्नो जल सम्पदाको उपयोग गर्न नसक्नु र राजनीतिक स्थिरता नभएका कारण जलस्रोत अन्य मुलुकहरुको नियन्त्रणमा जानसक्ने खतरा पनि विज्ञहरुले औल्याए ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले नेपालमा विश्वका ठूला देशहरुले आँखा गाड्नुको प्रमुख कारणमध्ये एक जलस्रोत रहेको बताए । विभिन्न बाहाना र कारण देखाएर नेपालमा पटक पटक विदेशी स्वार्थहरु घुस्ने गरेको भन्दै उनले त्यसका विरुद्धमा अडान लिन खोज्दा कतिपय अवस्थामा व्यक्तिगत सुरक्षाको समेत खतरा उत्पन्न हुने आफूले महशुस गरेको बताए ।

आफ्नो कार्यकालमा यस्तै स्वार्थहरु छिरेर एउटा ठूलो प्रोजेक्ट डिजाइन गर्न खोजिएको तर आफूले रोकेको पनि उनले स्मरण गरे । उर्जा नहुनुभन्दा महंगो उर्जा हुनु सही हो भन्ने तर्क गर्दै डिजेल प्लान्टको अवधारणा आएको र देशका निम्ति त्यो निकै खतरानाक रहेको उनले बताउनुभयो । त्यतिबेला ल्याइएको डिजेल प्लान्ट प्रति युनिट २९ रुपैयाँले नेपालीलाई नै बिक्री गर्ने भनिएको तर सबै लागत हेर्दा प्रतियुनिट ४५ रुपैयाँभन्दा बढी पर्ने स्पष्ट देखेपछि आफूले उक्त प्रोजेक्ट डिजाइन गर्नेहरुलाई यस्तो देशघाती काम नगर्न चेतावनी दिएको पौड्यालले स्पष्ट पारे ।

यस्तै उर्जा विकासको नाममा मित्रराष्ट्र अमेरिकालाई नेपालको छिमेकी मित्रराष्ट्र चीनकोविरुद्धमा असर पर्ने गतिविधि गर्न दिन नहुने बताए । उनले नेपालको जलस्रोत नीति बनाउँदा पहिलो प्राथमिकतामा पिउने पानी, दोश्रो प्राथमिकतामा सिंचाई र तेश्रो प्राथमिकतामा मात्र उर्जा विकास राख्नुपर्नेमा जोड दिए ।

पूर्व जलस्रोत मन्त्री तथा जलस्रोतविज्ञ दीपक ज्ञवालीले नेपालको पानीको उपयोग सहीरुपमा हुन नसकेको बताए । कुनै आधिकारिताविना जलस्रोतमा नेपाललाई विश्वकै दोस्रो देश भन्ने गरिए पनि त्यो सही नभएको बताए । नेपाल ४ महिना बाढीको धनी र ८ महिना खडेरीको धनी भएको भन्दै उनले यो कुरा एउटा खुट्टो अँगेनामा झोस्ने र एउट खुट्टो रेफ्रीजेरेटरमा राख्ने अनि औषतमा भन्दा मलाई आरामै छ भनेको जस्तो भएको स्पष्ट पारे । यहाँको पानी पनि व्यवस्थित रुपमा उपयोग गर्न नसकिएको उनको भनाइ थियो ।

साथै उनले एमसीसी र तिब्बती शरणार्थीको सहयोगका लागि ल्याइएको ऐन नेपाललाई अर्को देशका विरुद्ध प्रयोग गर्न ल्याइएको बताए । ज्ञवालीले अमेरिकी परियोजना नेपालको हीतका लागि नभएको तर्क गरे । उनले नेपालीले उत्पादन गरेको बिजुली नेपालभित्रै बाँढ्नका लागि भन्दापनि भारत पुर्याउने उदेश्यका साथ निर्माण गर्न लागिएको बताए । अहिले नेपालमा लोडसेडिङ् हटेको दावी गरेपनि नेपालको उत्पादनको अनुपातमा झन्डै ५० प्रतिशत भारतबाट ल्याएका कारण संभव रहेको उल्लेख गरे । नेपाललाई अरु कुनै देशको गोटी बन्न दिन नहुने कुरामा उनले सचेत गराए ।

साथै उनले एमसीसी र तिब्बती शरणार्थीको सहयोगका लागि हालै जारी गरिएको तिब्बत ऐन नेपाललाई अर्को देशका विरुद्ध प्रयोग गर्न ल्याइएको बताए । ज्ञवालीले अमेरिकी परियोजना नेपालको हीतका लागि नभएको तर्क गरे । उनले नेपालीले उत्पादन गरेको बिजुली नेपालभित्रै बाँढ्नका लागि भन्दापनि भारत पुर्याउने उदेश्यका साथ निर्माण गर्न लागिएको बताए ।

कार्यक्रममा जलस्रोत विशेषज्ञ रतन भण्डारीले जलस्रोतमाथिको बहस केवल विद्युतमा मात्र केन्द्रित हुने गरेको भन्दै यो सही बुझाइ नभएको बताए ।जलस्रोतको बहुआयामिक उपयोगमा ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए । पानीलाई केवल विद्युतको आँखाले मात्र हेर्न नहुने उनको तर्क थियो । नेपाललाई जलस्रोतको दोस्रो धनी देश भनिए पनि नेपालका ग्रामीण भूगोलहरुमा स्वच्छ खानेपानीको समस्या रहेको, सिँचाईमा आकाशे पानीको भर पर्नुपरेको र तराईमा जमिनमुनिको पानी उपभोग भइरहेको उनले बताए । अहिले केही मानिसले देशमा लोडसेडिङ अन्त्य भएको बताइरहेको तर यसमा पनि अध्ययनको कमी रहेको भन्दै भण्डारीले नेपालका अधिकांश गाउँहरु विद्युत सेवाबाट वञ्चित रहेको र विद्युत नपुगेका ठाउँको सदाकालिन लोडसेडिङका बारेमा कसैले कुरा नगरेको गुनासो गरे ।

जलस्रोत तथा सिंचाई सचिव मधुसुदन अधिकारीले जलस्रोतलाई बहुआयामिक रुपमा उपयोग गरिनुपर्नेमा जोड दिए । अहिले सरकारले एकीकृत जलस्रोत नीति ल्याएको जानकारी गराउँदै उनले कुन कुन क्षेत्रमा कति उपयोगिता र कुन कुन क्षेत्रहरु प्राथमिकतामा हुने भन्ने छुट्याइएको जानकारी दिए । उनले पानीमा अन्तरक्षेत्रीय द्वन्द्व नहोस भन्ने कुरामा नेपालले ध्यान दिनुपर्नेमा जोड दिए । जलस्रोतमा एउटा मात्र देशको नभई अरुको पनि चासो रहने गरेको भन्दै धेरैले अहिले प्राकृतिक स्रोत उपभोगको अधिकार उठाउने गरेको बताए ।

जलस्रोत अभियन्ता भरतबहादुर शाहीले नेपालमा जलस्रोत प्रयोगबारे अहिलेसम्म पर्याप्त छलफल हुन नसकेको बताए । देशको मेरुदण्ड हुनसक्ने जलविद्युत आयोजनाको विकास र उपभोगबारे पर्याप्त अध्ययन हुन नसकेको पनि शाहीको धारणा थियो । शाहीले एमसीसी परियोजना नेपालमा सञ्चालन गर्ने अमेरिकी रणनीती यस क्षेत्रको विकास निर्माण को लागि नभएरको प्रस्ट पारे । उनले भने, अमेरिका एमसीसी परियोजनामार्फत् नेपालमा सहजरुपमा प्रवेश गर्दै नेपालका सामरिक महत्वका क्षेत्रहरुको अध्ययन गर्ने योजनामा छ । अमेरिकाले हालै जारी गरेको तिब्बतत विधियेक पनि यसै रणनीतीसँग आएको उनको दाबी थियो ।

उनले तिब्बतको अपार जलस्रोत र त्यहाँका विभिन्न प्राकृतिक सम्पदा प्रत्यक्षरुपमा हत्याउन सम्भव नभएपछि उसले कहिले चीनको मानव अधिकारको कुरा उठाउने गरेको छ भने कहिले तिब्बती शरणार्थीहरुलाई सहयोग गर्ने नाममा नेपाली भूमिमार्फत चीनलाई तहस नहस बनाउने रणनीति बनाएको स्पष्ट हुन्छ भने । चीनको आर्थिक वृद्धिदर अमेरिकालाई उछिन्ने हिसावले अघि बढेसँगै अतालिएको अमेरिकाले आफ्ना नागरिकलाई कुनै असर नपर्ने गरि चीनमाथि विभिन्न ढंगले हस्तक्षेप गर्दै उसको शक्ति र प्रभाव कमजोर पार्न नेपाली भूमि प्रयोग गर्ने रणनीति अमेरिकाको रहेको समेत उनले बताए । दक्षिण एशियामा रहेको जलभण्डारमाथि सिधै आधिपत्य कायम गर्न प्रत्यक्षरुपमा सम्भव नभएकोले अमेरिकाले उसका समर्थक देशहरुसँगको मिलोमतोमा विभिन्न रणनीति मार्फत यस क्षेत्रको जलसम्पदामा अधिन कायम गर्न प्रयत्नसिल भएको उनको आरोप छ ।

कार्यक्रममा जलस्रोत अभियन्ता स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इपान का उपाध्यक्ष गणेश कार्कीले उद्यमीहरु राज्यसँग सहकार्य गरेर विद्युत विकासमा लाग्न तयार रहेको बताए । कार्कीले नेपालको विकासको मूल आधार नै विद्युत भएकोले जतिसक्दो धेरै उत्पादनमा जोड दिनुपर्ने बताए । अहिले भनिएजस्तो नेपालको विद्युत उत्पादनको क्षमता ८३ हजार नभए पनि ४० हजार भएको तथ्यांक उनले प्रस्तुत गरे । २० हजार मेगावाट विद्युत आन्तरिक खपत गरेर २० हजार बेच्न सके मात्रै पनि राज्य समृद्धिको बाटोमा जाने उनको भनाइ थियो । चुलो र घरमा बाल्ने विद्युतको हिसाब गरेर राज्य बसेको भन्दै कार्कीले उत्पादनमूलक र औद्योगिक क्षेत्रमा विद्युत खपत नभई समृद्धि नआउने उल्लेख गरे ।

आयोजक संस्था फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टका संयोजक पत्रकार प्रभात चलाउनेले नेपालको प्राकृतिक सम्पदा विश्वका लागि स्वार्थको विषय भएकोले जल तथा उर्जा नेपालको हीतका लागि कसरी प्रयोग भन्नेबारेमा हुन नसकेकाले कार्यक्रमको आयोजना गरिएको बताए । पत्रकार रमेश हुतुवालीले यस्ता कार्यक्रमको निरनतरताको लागि जोड दिए । बागमती टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *