सर्वोच्च अदालत सबै लोकतन्त्रवादीहरुको आशा र भरोसाः पूर्वराष्ट्रपति यादव

  • 2
    Shares

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएकाले देश अहिले अनिश्चित बाटोमा गइरहेको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको भन्दै सर्वोच्च अदालत अहिले सबै लोकतन्त्रवादीहरुको आशा, भरोसा र विश्वासको केन्द्रको रुपमा रहेकाले अदालतले संसद पुनस्थापना गर्ने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभामा ३ करोड नेपाली जनताको प्रतिनिधि बस्ने भन्दै उनले प्रतिनिधिसभालाई विघटन गरेर लोकतन्त्रलाई आघात पुर्याउने काम गरिएको बताए । उनले नेपालको भूराजनीतिक अवस्थाका कारण दुई छिमेकी देशले अहिले नेपालमा परेड खेल्ने काम गरेको भन्दै नेपालले स्वस्थ विदेश नीति नलाएमा देशलाई बचाउन कठिन हुने बताए ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गरेको भन्दै यादवले त्यो देशका लागि सुखद नहुने धारणा राखे । त्यस्तै पूर्वराष्ट्रपति यादवले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले बीपी कोइरालाको मेलमिलापको नीति झनै सान्दर्भिक बन्दै गएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी ओलीले जनताको प्रतिनिधिमूलक संस्थालाई ध्वस्त पारेर आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेपनि निर्वाचन असम्भव रहेको बताए ।

उनले सरकारलाई दबाब दिन सम्पूर्ण राजनीतिक दलहरुले सडकमा आन्दोलन गरेर संसद पुनःस्थापना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

 


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *