प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिलाई जनताको बलबाट ध्वस्त पार्नुपर्छः वरिष्ठ नेता खनाल

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृतिलाई जनताको बलबाट ध्वस्त पार्नुपर्ने बताएका छन् । बुधबार वाग्मती प्रदेशको अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले जनताको शक्तिलाई परिचालन गरेर प्रधानमन्त्री ओलीको प्रतिगमनलाई ध्वस्त पार्नुपर्ने बताएका हुन् ।

उनले नेपालमा रहेको एक सय वर्षको राणा शासन, पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै यसलाई पनि जनताको बलबाट ध्वस्त पार्नुपर्ने उल्लेख गरे । त्यस्तै नेता खनालले मुलुकमा स्थायित्व कायम गर्न संविधानमा पाँच वर्षसम्म संसद विघटन गर्न नसक्ने व्यवस्था गरेको भन्दै प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नरहेको दाबी गरे ।

प्रधानमन्त्रीले संविधानको बलात्कार गरेर संविधानको मर्म र भावना विपरीत संसद विघटन गरेको भन्दै खनालले लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए । संविधान र लोकतन्त्रको रक्षा गर्न नसके अस्थिरतातर्फ देश धकेलिने भन्दै उनले यसका विरुद्धमा लड्नुपर्ने अवस्था आएको बताए ।

त्यस्तै नेता खनालले प्रधानमन्त्री ओलीको प्रतिगामी प्रवृति लोकतन्त्र र आम जनताको इच्छा र आकांक्षा विपरीत रहेको भन्दै जनताको बलिदानबाट प्राप्त उपलब्धी रक्षा गर्न अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए । उनले बालुवाटारमा गरिएको ओली पक्षको भेला संविधान र लोकतन्त्र विरोधीको भेला भएको समेत टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *