नेपाल टेलिकमले आइपी टिभी सञ्चालनमा ल्याउने

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच) मार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आइपी टिभी सेवा थप गर्न लागेको हो । कम्पनीको एनटी टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ ।

तत्कालका लागि उक्त सेवा काठमाडौँ उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबुमा उपलब्ध हुनेछ । यसैगरी पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यकाबाहिर बनेपामा समेत टेलिकमको एफटिटिएच नेटवर्क पुगिसकेको र प्राविधिक रुपमा एफटिटिएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने जनाइएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशी हाल एफटिटिएच सेवामार्फत भ्वाइस तथा डाटा सेवा वा दुवै सेवा लिइरहेका ग्राहकहरुले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुपर्ने बताउँछन् ।

उनका अनुसार उक्त टिभी सेवा ग्रयोग गर्न ग्राहकले कम्पनीबाट सेटअप बक्स खरीद गर्नुपर्दछ भने हाल प्रयोगमा रहेको पुरानो तथा आधुनिक (नयाँ) टिभी सेटमा एनटी टिभी हेर्न सकिनेछ ।

विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा विभिन्न प्याकेजमा वितरण हुने भन्दै आवश्यकता र उपयुक्तताअनुसार छनोट गर्न सकिने टेलिकमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *