व्यवसायीलाई उद्योग व्यवसायको विस्तारमा सक्रियतापूर्वक लाग्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर उद्योग व्यवसायको विस्तारमा सक्रियताका साथ लाग्न नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीलाई आग्रह गरेका छन् ।

महासङ्घको नवनिर्वाचित पदाधिकारीसँग सोमबार भएको भेटमा अध्यक्ष दाहालले पदाधिकारीलाई कार्यकालको शुभकामना दिँदै देशभित्रै उद्योग व्यवसायको विस्तारमा लाग्न आग्रह गरेका हुन् ।

निजी क्षेत्रको छाता संस्थाका रुपमा रहेको महासङ्घलाई आफूले सधैँ उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकको अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरोत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको बताए । उनले महासङ्घको नवनिर्वाचित नेतृत्वले पनि सो क्षेत्रलाई केन्द्रमा राखेर काम गर्ने तयारी गरेको थाहा पाउँदा आफूलाई खुशी लागेको बताए ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू अञ्जन श्रेष्ठ र रामचन्द्र सङ्घई र कोषाध्यक्ष सकुन्तलाल हिराचनसहितको प्रतिनिधिमण्डलले आज अध्यक्ष दाहालसँग भेटवार्ता गरेको हो ।

भेटमा नवनिर्वाचित कार्यसमितिका तर्फबाट अध्यक्ष गोल्छाले कोभिड महारमारीको अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझावसहितको ‘भिजन पेपर’ तयारी गरिरहेको जानकारी गराए । अध्यक्ष गोल्छाले आर्थिकदेखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सबैको कर्तव्य भएको र निजी क्षेत्रको नेतृत्वदायी संस्था महासङ्घले यसका लागि विशेष गृहकार्य गरिरहेको दाहाललाई जानकारी गराएको थियो ।

निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरोत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै सत्तारूढ पार्टीको कार्यकारी अध्यक्षको हैसियतले आफूहरुले सहयोग र साथ पाउने विश्वास महासङ्घको पदाधिकारीले गरेको थियो । भेटमा महासङ्घका पदाधिकारीहरुबाट साना तथा मझौला उद्योग व्यवसायको पुनरोत्थानमा विशेष जोड दिनुपर्ने बताउँदै मौद्रिक नीतिमार्फत आएका राहतका सुविधाहरूको कार्यान्वयनको अनुभूति स्थानीय तहका उद्यमी व्यवसायीहरूले गर्न पाउनुपर्नेमा जोड दिइएको थियो । महासङ्घका पदाधिकारीको कुरा सुनेपछि अध्यक्ष दाहालले आफ्नो तर्फबाट उद्योगी व्यवसायीलाई सधँै सहयोग रहने र सरकारले पनि सहजीकरण गर्ने विश्वास दिलाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *