सेयर बजारमा ठूलो पहिरो : लगानीकर्ताले एकै दिन गुमाए १ खर्ब ६५ अर्ब

काठमाडौं । नेप्से परिसूचक ह्वात्तै १ सय २३ दशमलव ३४ अंकले ओरालो लागी ३० लाख लगानीकर्ताको एकै दिन १ खर्ब ६५ अर्ब रुपैयाँ गुमेको छ । आइतबार बजारमा नेगेटिभ सर्किट लाग्दा सबैभन्दा बढी निर्जीवन बिमा समूहको परिसूचकमा गिरावट आएको छ ।

गत बिहीबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको हो । लगानीकर्ताले एक दिनमा १ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ गुमाउँदा सेयर ब्रोकरले भने कमिसनबाटै ३ करोड ५० लाख रुपैयाँ हाराहारी कमाए ।

नेप्सेमा एकाएक गिरावट आउनुमा राष्ट्र बैंकको मौद्रिक समीक्षा र अस्थिर नीति भएको भन्दै संघीय संसद्को अर्थसमितिले राष्ट्र बैंकका गभर्नरलाई बैठकमा बोलाएको छ ।

नेपाल राष्ट्रबैंकका गभर्नरलाई छलफलका लागि बोलाइएको संघीय संसद्अन्तर्गतको अर्थसमितिका सभापति कृष्ण दाहालले बताए । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका कारण सेयर बजारमा पहिरो गएपछि चासो देखाइएको हो । यही शुक्रबारसम्म सबै संसद् र नेपाल राष्ट्र बैंकलाई समेत बैठकमा डाकी बजार घटेको विषयमा छलफल हुन लागेको सभापतिले दाहालले जानकारी दिए ।

बिहान ११ बजेदेखि कारोबार सुरु भएको नेप्सेमा साढे २ बजेतिर कारोबार ६ प्रतिशतले गिरावट आउँदा नेगेटिभ सर्किट ब्रेक लागेको थियो । निर्धारित अवधिभन्दा ४७ मिनेटअगावै २ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भयो ।

आइतबार बजारमा रहेका सबै परिसूचक राताम्य हुँदा करिब साढे ३ घण्टामा ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १९७ वटा कम्पनीको ६१ हजार ८५६ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर कारोबार भएको हो ।

सर्किट लाग्दा सबैभन्दा बढी निर्जीवन बिमा समूहको परिसूचकमा गिरावट आएको छ । बिमा समूहको परिसूचकमा ५ सय ६९ अंकको गिरावट आउँदा उत्पादनमूलक क्षेत्रको परिसूचक भने ३६२ अंकले घटेकोे छ ।

यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचकमा भने आज ६४ अंकको गिरावट आएको छ । विकास बैंक समूहको परिसूचक ७६ अंकले घट्दा जलविद्युत् समुहको परिसूचक भने ८६ अंकले ओरालो लागेको छ ।

बिहीबार १५ दशमलव ५७ अंक घटेर २ हजार ५५ दशमलव ४५ बिन्दुमा बन्द भएको बजार आइतबार २ हजार ५१ दशमलव ५१ बिन्दुदेखि खुला भएको थियो । आइतबार बजार १२३ अंक घटेर १ हजार ९३२ दशमलव ११ बिन्दुमा झरेको हो ।
नकारात्मक सर्किटबाट प्रभावित आइतबारको बजारमा नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक रकमको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब १६ करोड ८ लाख ३१ हजार बराबरको सेयर कारोबार भएको हो । आइतबार एकै दिन नेपाल पुनर्बिमाको सेयरमूल्य प्रतिकित्ता १७३ ले घटेर १ हजार ५६२ मा झरेको छ ।

आइतबार सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको यो दिन ४४ करोड ९० लाख २७ हजार बराबरको सेयर कारोबार भएको हो । उक्त कम्पनीको सेयरमूल्य पनि प्रतिकित्ता १९१ ले घटेर अन्तिम मूल्य १ हजार ७६४ मा झरेको छ ।

आइतबार नौ ओटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८५ कम्पनीको सेयरमूल्य घटेको छ । यो दिन डिप्रोक्स लघुवित्तको सर्वाधिक १० प्रतिशतले सेयरमूल्य घटेको छ भने नेपाल पुनर्बिमासहित अन्य १८ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । आइतबार रिलायन्स फाइनान्स, हिमालयन बैंक डिवेन्चर, कर्पोेरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, एनएमबी ५०, मञ्जुश्री फाइनान्स, प्रभु बैंक डिबेन्चर २०८४ र सानिमा बैंक डिवेन्चरको मूल्य बढेको छ ।

राष्ट्र बैकले तीन महिनाअगाडि मात्र दिएको सुविधा बिहीबार कटौती गर्ने संकेत गरेपछि आइतबार सेयर बजारमा पहिरो गएको हो ।

राष्ट्र बैंकले धितोको ६५ प्रतिशतसम्म पाइने ऋणलाई ७० प्रतिशत पु-याएको थियो । यसले गर्दा अधिक तरलता अनुत्पादक क्षेत्रमा गएको भन्दै उसले पुनरावलोकन गर्ने जनाएको छ ।

यसबाहेक बचतको ब्याज बढ्ने गरी केही नीतिगत हस्तक्षेप गरेको छ । तर, मुख्य कारण सेयर धितो ऋणमा गर्न लागिएको कडाइले सेयर बजार घटेको लगानीकर्ताको बुझाइ छ । यसबाहेक राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट ऋणमा पनि पुनरावलोकन गर्ने जनाएको छ । यस्तो ऋणको सीमा ५० लाख छ । यसलाई घटाउने तयारी राष्ट्र बैंकको हो ।

यसैबीच सेयर बजारका लागनीकर्ताले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसँग भेट गरेका छन् । नेपाल इन्भेस्टर्स फोरमका छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका उत्तम अर्याल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी राधा पोखरेल, नेपाल पुँजी बजार संघका संरक्षण चौधरी र सेयर लगानीकर्ता दबाब समूहका हरि ढकालले संयुक्त रूपमा गभर्नर अधिकारीलाई पत्र पनि लेखेका हुन् ।

चार वर्षदेखि घट्दो क्रममा रहेको पुँजी बजारलाई लगानीकर्ताको विभिन्न चरणको आन्दोलनबाट प्राप्त भएको उपलब्धिका रूपमा रहेको ५८ बुँदे सहमतिमा पारेर मार्जिन लेन्डिङ (सेयर धितो ऋण) को सीमा बढाएको उनीहरूले पत्रमा उल्लेख गरेका छन ।

राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत ऋणको सीमा ७० प्रतिशत कायम गरिएको उल्लेख गर्दै उनीहरूले भर्खर कोमाबाट निस्किएर बिस्तारै आईसीयूमा स्थानान्तरण हुँदै गरेको नेपालको पुँजीबजारलाई मौद्रिक नीति लागू भएको तीन महिना पनि नबित्दै पुनरावलोकन गर्न खोज्दा लगानीकर्ता अत्यन्त मर्माहत र चिन्तित भएको उनीहरूले गभर्नरलाई लेखेका छन् ।

७० प्रतिशतको कर्जालाई अकस्मात् परिवर्तन गर्न खोज्नु भनेको पुँजीबजारलाई अस्थिर बनाउन राष्ट्र बैंक स्वयं नै लागिपरेको र गलत प्रभावमा परेर हतारका रूपमा गरिएको निर्णयको रूपमा लिएको पत्रमा उल्लेख छ ।यो खवर राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *