रुसमा कोभिडविरुद्धको खोप अभियान सुरु

रुसले कोभिड १९ विरुद्ध खोप अभियान सुरु गरेको छ । राजधानी मस्कोका क्लिनिकहरूमा कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई खोप दिइन थालेको छ । त्यहाँ गत अगस्ट महिनामा दर्ता भएको स्वदेशमै निर्मित स्पुत्निक ५ खोपको प्रयोग भइरहेको छ ।

खोप विकासमा संलग्न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन्। तर उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको छ । दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता भएका छन्। तर रुसको उत्पादन क्षमता के कति छ भन्ने विषय भने स्पष्ट छैन ।

उत्पादकहरूले यो वर्षको अन्त्यसम्ममा खोपको २० लाख मात्रा मात्रै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ । मस्को नगरप्रमुख सर्गे सोब्यानिनका अनुसार एक करोड ३० लाख जनसङ्ख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र अनि सामाजिक कार्यमा संलग्न मानिसहरूलाई खोप दिइँदैछ ।

खोपको थप मात्रा उपलब्ध हुँदै गर्दा खोप लिन इच्छुक मानिसको सूची पनि बढ्दै जाने उनले बताए । खोप लिन योग्य ठहर भएका १८ देखि ६० वर्षका मानिसले सहरका ७० स्थानमा रहेका क्लिनिकहरूमा निःशुल्क सुविधाका लागि अनलाइन सेवामार्फत् आफ्नो नाम दर्ता गर्न पाउँछन् ।

ती ठाउँ स्थानीय समयानुसार बिहान ८ बजे देखि साँझ ८ बजेसम्म खुल्छन् । पछिल्लो ३० दिनमा सुई लिएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई खोप दिइँदैन । त्यस्तै दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोप लगाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *