अमेरिकामा कोरोनाभाइरसविरुद्धको खोप लिन अनिवार्य नगरिने

अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले कोभिड १९ विरुद्धको खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई त्यो लिन बाध्य नबनाइने बताएका छन् ।

आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर्स फर डीजिज कन्ट्रोल (सीडीसी) ले पहिलो पटक आग्रह गरेपछि बाइडनले त्यस्तो बताएका हुन् । सीडीसीले अमेरिका कोरोनाभाइरसको उच्च दर रहने समयमा प्रवेश गरेको बताएको छ । शुक्रवार अमेरिकामा २ हजार पाँच सय सङ्क्रमितको मृत्यु र झन्डै २ लाख २५ हजार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म त्यहाँ १.४३ करोड मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्। त्यस्तै मृत्यु हुनेको कुल सङ्ख्या २,७९,००० छ । जनवरी २० तारिखमा पदभार ग्रहण गर्न लागेका बाइडनले उक्त समारोहमा ठूलो भिड नहुने अपेक्षा गरेको बताएका छन् ।

क्लिनिकल परीक्षणले आफूले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखाएको बताउने फाइजर र ९४ प्रतिशत प्रभावकारी रहेको भन्दै मोडेर्ना दुवैले खोप वितरणका लागि अनुमति माग गर्दै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशनमा आवेदन दिएका छन् । फाइजरले बनाएको खोपको प्रयोगलाई विश्वमै पहिलो पटक बुधवार यूकेले अनुमति दिएको थियो ।

शुक्रवार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अबको एक हप्तामा कोभिड १९ खोपलाई अनुमिति दिने विषयमा टुङ्गोमा पुग्ने बताएका थिए । तर राष्ट्रपति निर्वाचित बाइडनले भने कोरोनाभाइरस विरुद्धको खोपलाई अनिवार्य बनाउन आवश्यक नपर्ने टिप्पणी गरेका छन् ।

पीउ रिसर्च सेन्टरका अनुसार ६० प्रतिशत अमेरिकीहरू मात्रै कोरोनाभाइरसविरुद्ध खोप लिन तयार देखिन्छन्। ।उक्त सङ्ख्या गत सेप्टेम्बर महिनामा ५१ प्रतिशत थियो । बाइडनले अमेरिकीहरूलाई १०० दिनसम्म मास्क लगाउन आफ्नो आग्रह दोहोर्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *