सशस्त्रमा सात डीआईजीका लागि १२ को लबिङ, ठाडामगरलाई ट्रम्पको धक्का

काठमाडौं । सशस्त्र प्रहरीमा यही २८ मंसिरदेखि सात जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त हुने भएपछि प्रतिस्पर्धी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू लबिङमा लागेका छन् । बढुवामा वरीयतामा अगाडि आउन सकेको खण्डमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)को रोलक्रममा समेत परिने हुनाले अहिलेको बढुवालाई विशेष चासोका साथ हेरिएको छ ।

डीआईजी पदमा सात जनालाई बढुवा गरिए पनि आईजीपीको रोलक्रममा भने दुई जना मात्र देखिनेछन् । अन्य भने ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।

सशस्त्र प्रहरी बल स्थापना हुँदा २०५८ सालमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी हाल सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहेका नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले २७ मंसिरबाट अनिवार्य अवकाश पाउने भएका हुन् । २८ मंसिर २०४७ मा नेपाली सेनामा प्रवेश गरेका उनीहरूको ३० बर्से सेवा अवधि यही २७ मंसिरमा सकिँदै छ । एउटा डीआईजी पद भने लामो समयदेखि रिक्त छ ।

स्रोतका अनुसार रिक्त सात डीआईजी पदका लागि १२ जना एसएसपी प्रतिस्पर्धामा छन् । बढुवाका लागि शक्तिकेन्द्र धाउने खेल सुरुसमेत भइसकेको छ ।

बढुवामा पहिलो नम्बरमा एसएसपी अभिकुमार खत्री छन् । १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनी ३ असार २०५६ मा प्रहरी निरीक्षक बनेका थिए । १७ चैत २०७३ मा एसएसपीमा बढुवा भएका उनलाई हालै वरिष्ठताका आधारमा नम्बर ६ बाहिनीको निमित्त बाहिनीपतिको जिम्मेवारीसमेत दिइसकिएको छ । एसएसपी भए पनि निमित्त बाहिनीपतिको जिम्मेवारी पाउने उनी एक जना मात्रै हुन् ।

डीआईजीका लागि वरिष्ठताका आधारमा शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी छन् । उनीहरू सबै जना खत्रीसँगै १७ चैत २०७३ मा एसएसपीमा बढुवा भएका थिए ।

हालको रोलक्रममा उनीहरूपछि कुलबहादुर नेम्वाङ, कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक छन् ।

स्रोतका अनुसार, वरिष्ठताका आधारमा अघि रहेका खत्री, सुवेदी, ठाडामगर, भट्टराई, गिरी र नेम्वाङ डीआईजी हुने पक्काकक्की जस्तै छ । नियमावली परिवर्तन नभएको खण्डमा अहिले बढुवा हुने ठाडामगर वा गिरी भावी आईजीपीको रोलक्रममा हुनेछन् ।

सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन् । सो समितिले बढुवा सिफारिस गर्दा कार्यक्षमताको मूल्यांकनको आधारमा गर्छ ।

जसमा कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषणबापत २ अंक, बढुवा समितिले दिने अंक बापत ५ अंक दिन पाउने व्यवस्था छ । बढुवा समितिले तयार पारेको सिफारिस गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेपछि मन्त्रिपरिषद्ले पास गर्ने व्यवस्था छ ।

एसएसपी ठाडामगरलाई ट्रम्पको धक्का

काठमाडौं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका प्रमुख एसएसपी ठाडामगरलाई सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।यो खवर राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *