प्रज्जवल थापा । स्पेनिस लिग लालिगामा रियल म्याड्रिडले खराब फर्मलाई निरन्तरता दिएको छ । शनिबार राती भएको खेलमा रियल म्याड्रिड डिपोर्टिभो आल्भेससँग २-१ गोल अन्तरले पराजित भएको हो । म्याड्रिडले लिगको पछिल्लो ३ खेलमा जित निकाल्न सकेको छैन ।
घरेलु मैदान एल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा म्याड्रिडले दुवै गोल आफ्नै गल्तीमा बेहोरेको थियो । खेलको पाँचौ मिनेटमा म्याड्रिडका डिफेन्डर नाचोले पेनाल्टी क्षेत्रभित्र हेन्ड गरेपछि आल्भेसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीलाई लुकास पेरेजले गोल गर्दै आल्भेसलाई खेलमा अगाडी बढाएका थिए । २८ औँ म्याड्रिडका फर्वार्ड इडेन हजार्ड चोट बोक्दै मैदान बाहिरिएका थिए ।
४९ औँ मिनेटमा गोलरक्षक थियाबोट कर्टियसको गल्तीको फाइदा उठाउदै आल्भेसले दोस्रो गोल गर्यो । कर्टियसले सिधै विपक्षी खेलाडीलाई पास दिएपछि जोसेलुले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ८६ औँ मिनेटमा केसेमिरोले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा म्याड्रिड हार बेहोर्न बाध्य भयो ।
हारसँगै रियल म्याड्रिडले शिर्ष स्थानमा रहेको रियल सोसिडाडसँग अङ्क दुरि घटाउने मौका चुकाएको छ । हाल म्याड्रिड १० खेलमा १७ अङ्क जोड्दै चौथो स्थानमा यथावत छ । डिपोर्टिभो आल्भेस ११ खेलमा १३ अङ्क जोड्द नवौँ स्थानमा उक्लिएको छ ।