प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेड विजयी भएको छ । शुक्रवार राती भएको खेलमा क्यासलले क्रिस्चल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
सेलहुर्स्ट पार्कमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कलियम विल्सन र जोइलिन्टनले एक-एक गोल गरे । दुवै गोल दोस्रो हाफको अन्त्यमा सम्भव भएको थियो । खेलको ८८ औँ मिनेटमा जोइलिन्टनको पासमा विल्सनले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । ९० औँ मिनेटमा विल्सनको पासमा जोइलिन्टनले गोल गर्दै न्युक्यासललाई २-० गोलको जित दिलाए ।
जितसँगै न्युक्यासल युनाइटेड १० खेलमा १४ अङ्क जोड्दै तालिकाको १० औँ स्थानमा उक्लिएको छ । पराजित प्यालेस १० खेलमा १३ अङ्क जोड्दै १३ औँ स्थानमा छ ।
