पहिलो ओडिआईमा अस्ट्रेलिया विजयी

प्रज्जवल थापा । भारतविरुद्ध भएको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल (ओडिआई) मा अस्ट्रेलिया विजयी भएको छ । शुक्रबार दिउँसो भएको खेलमा अस्ट्रेलिया ६६ रनले विजयी भएको हो ।

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा ३७५ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा ३०८ रन मात्र बनाउन सक्यो । भारतको लागि शिखर धवन र हार्दिक पाण्डय बाहेक अन्य ब्याट्सम्यानले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । भारतले पहिलो विकेटको रुपमा ५.२ ओभरमा मयंङ्क अग्रवाललाई २२ रनमा गुमाएको थियो । उनी १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै हज्लेवुडको बलमा म्याक्सवेलको हातबाट क्याच आउट भए ।

यस्तै कप्तान विराट कोइली २१ बलमा २१ रन जोड्दै पभिलियन फर्किदा श्रेयस आयर २ रन बनाएर आउट भए । दुवै ब्याट्सम्यानको विकेट जोश हज्लेवुडले लिएका थिए । १३.३ ओभरमा केएल राहुल १२ रन बनाएर जाम्पाको बलमा आउट हुँदा भारत १०१-४ को स्थितिमा पुगेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका हार्दिक पाण्डयले शिखर धवनसँग १ सय २८ रनको साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो । ३४.३ ओभरमा शिखर धवन ७४ रन बनाएर आउट भए । धवन ८६ बलमा १० चौका प्रहार गर्दै जाम्पाको बलमा स्ट्राकको हातबाट क्याच आउट भए ।

हार्दिक पाण्ड्यले ७६ बलमा सार्वधिक ९० रन बनाएर जाम्पाको बलमा आउट भए । उनले ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै रविन्द्र जडेजाले २५, नवदिप सैनीले २९ र मोहमद शामीले १३ रन जोडेपनी भारतको जितको लागि पर्याप्त भएन ।

अस्ट्रेलियाको लागि एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ५४ रनको क्षतिमा ४ विकेट लिए । जोस हज्लेवुडले १० ओभरमा ५५ रन दिएर ३ विकेट लिदा मिचेक स्ट्राकले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको थियो । घरेलु टोलीको लागि कप्ताम एरोन फिन्च र स्टिभ स्मिथले सतक प्रहार गरे । ओपनर फिंन्चले १२४ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११४ रन जोडेर शामीको बलमा आउट भए । फिन्चको यो १७ औँ ओडिआई शतक हो ।

स्टिभ स्मिथले ६६ बलमा १०५ रन बनाउँदै आफ्नो दसौँ शतक पूरा गरे । उनले ११ चौका र ४ छक्का प्रहार गरे । यस्तै डेभिड वार्नरले ७६ बलमा ६ चौकाको मद्दतमा ६९ रन बनाए । ग्लेन म्याक्सवेलले बिस्पोटक ब्याटिङ गर्दै १९ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४५ रन बनाउँदा एलेक्स क्यारीले १७, मार्नुस लबुस्छाग्नेले २ रनको योगदान गरे ।

भारतको लागि मोहमद शामीले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिँदा जस्प्रित बुम्रा, नवदिप सैनी र युजवेन्द्र चहालले समान एक-एक विकेट लिए ।

सुरक्षा मापदण्ड अपनाएर आजको खेलमा दर्शकले मैदानमै गएर खेलको मज्जा लिन पाएका थिए । आजको खेलमा १७ हजार ८ सय २१ दर्शक उपस्थित थिए । दुई टोलीबिच दोस्रो एकदिवसिय खेल आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *