लिभरपुल एटलान्टासँग स्तब्ध

प्रज्जवल थापा । इङलिस क्लब लिभरपुल एटलान्टासँग पराजित भएको छ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको खेलमा लिभरपुल एटलान्टासँग २-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा जित निकालेको खण्डमा लिभरपुलले अन्तिम १६ मा स्थान पक्का गर्ने थियो । एटलान्टालाई जित दिलाउन जोसीप लिचिच र रोबिन गोसेन्सले एक-एक गोल गरे । एटलान्टाले दुवै गोल दोस्रो हाफमा ५ मिनेटको अन्तरालमा गरेको थियो । ६० औँ मिनेटमा एलेजान्ड्रो गोमेजको पासमा जोसिप लिचिचले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए ।

६४ औँ मिनेटमा हान्स हटेबोरको पासमा रोबिन गोसेन्सले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर बनाए । लिभरपुलले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनी बललाई जाली चुमाउन सकेन । जितसँगै एटलान्टाले नकआउट चरणमा पुग्ने अवसर जिवित राखेको छ । हारका बाबजुद लिभरपुल ४ खेलमा ९ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत छ । एटलान्टा ४ खेलमा ७ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।

समुहको अर्को खेलमा आयाक्सले मिट्जील्यान्डलाई ३-१ गोलले हरायो । आयाक्सको जितमा रायन ग्राभेनबर्च, नासेर मजरौइ र डेविड नेरेसले १-१ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *