पढाइ नभएको समयको शुल्क लिइएकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विद्यालय सञ्चालन र पढाइसमेत नभएका अवस्थामा केही निजी विद्यालयमा विद्यार्थीबाट शुल्क असूल गरिने अभिभावकमाथिको लुट भएको जनाएको छ । पार्टी प्रवक्ता दुर्गा पौडेलले आइतबार विज्ञप्ति जारी गरी पढाइ नभएको पैसा असूल गर्ने विद्यालयलाई कारवाही गर्न माग गरेकी हुन् ।

पार्टीले सरकारले कोभिड सङ्क्रमणको परिस्थिति हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने जिम्मा स्थानीय तहलाई दिएकामा भने समर्थन गरेको छ ।

विज्ञप्तिमा राष्ट्रिय बालअधिकार परिषद्ले बालिकामाथि भएका बलात्कार र बालबालिकामाथिका यौनजन्य हिंसाबारे सार्वजनिक गरेको प्रतिवेदनमा बालिकामाथि बलात्कारका घटना विकराल बन्दै गएको देखिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७६–७७ मा एक हजार ३९३ बालिका बलात्कारबाट पीडित भएको देखिएको छ ।

त्यसमध्ये २५ बालिका सामूहिक बलात्कारको शिकार भएका छन् । दश वर्षमुनिका २७२ बालिका बलात्कार पीडित रहेको देखिएको छ । प्रतिवेदनमा पाँच बालकसमेत यौनहिंसामा परेको सार्वजनिक गरिएको थियो ।
बालबालिकामाथि हुने हिंसा, बलात्कार, यौन तथा श्रम शोषणका घटना हुन नदिन र दोषीलाई कारबाही गर्न पनि पार्टीले माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *