पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादीको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै सैन्य कारबाहीमा १६ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ।

सेनाको सञ्चार शाखा अन्तरसेवा जनसम्पर्क विभागका अनुसार प्रान्तीय राजधानी क्वेटानजिकैको शाबान क्षेत्रमा बिहीबार आतंकवादीहरूको आश्रयस्थललाई लक्षित गरी गरिएको कारबाहीमा पाँच जना मारिएका थिए। घटनास्थलबाट हतियार, गोलीगठ्ठा तथा विस्फोटक पदार्थसमेत बरामद गरिएको सेनाले जनाएको छ।

त्यसैगरी, शुक्रबार नुस्की जिल्लामा प्राप्त गोप्य सूचनाका आधारमा गरिएको अर्को कारबाहीमा सुरक्षा बल र आतंकवादीबीच भएको भीषण गोली हानाहानपछि ११ जना आतंकवादी मारिएको सेनाले जनाएको छ।

सेनाका अनुसार यी कारबाही आतंकवादीविरुद्ध सञ्चालन गरिएको व्यापक आतंकवादविरोधी अभियानअन्तर्गत भएका हुन्।

सेप्टेम्बर २१ देखि सुरु गरिएको उक्त अभियानअन्तर्गत बलुचिस्तानमा हालसम्म ३३ जना आतंकवादी मारिएको सेनाको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *