कोरोना महामारीको बेला सरकार रमिते बन्योः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको आरोप लगाएका छन् ।
आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा नेता सिंहले यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाएका हुन् ।

‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहनु भएका नेता सिंहले भने, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो ।’

सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उनले बताए । यतिबेला आफूहरुले प्रमुख प्रतिपक्षीको रुपमा उठाउनु पर्ने विषय उठाउँदै आए पनि सरकारले नसुनेको उनको भनाई थियो ।

कोरोना महामारीका कारण तत्कालै सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’

सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको उल्लेख गर्दै उनले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने बताए । ‘कोरोना महामारीको बेलामा सरकारले के गर्याे अब यो भनिरहनु परेन,’ उनले भने, ‘ अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन । यसर्थ आफैं आफ्नो सुरक्षामा लाग्नुपर्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *