अस्ट्रेलियाली सैनिकले ३९ अफगान नागरिकहरूको हत्या गरेको खुलासा

अस्ट्रेलियाली सैनिकहरूले अफगानिस्तानमा ३९ नागरिकको अवैधानिक रूपमा हत्या गरेको ’विश्वसनीय प्रमाण’ रहेको निष्कर्ष एउटा सैन्य अनुसन्धानले निकालेको छ । अस्ट्रेलियन डिफेन्स फोर्स एडीएफले आफ्ना सैनिकहरूले अफगान युद्धका बेला गरेका दुव्र्यवहारहरूबारे चार वर्ष लगाएर गरेको छानबिनको प्रतिवेदन सार्वजनिक भएको छ ।

सन् २००९ देखि २०१३ सम्म ’बन्दी, किसान वा गैरसैनिक सर्वसाधारण’ को हत्याका घटनामा १९ बहालवाला वा पूर्वसैनिकलाई अनुसन्धानको दायरामा ल्याइनुपर्ने एडीएफको निष्कर्ष छ । केही सैनिकमा देखिएको अनियन्त्रित ’योद्धा संस्कार’का कारण ती अपराधहरू भएको उसको भनाइ छ । उक्त छानाबिनमा सैन्य न्यायाधीश पल ब्रेरेटनले ४०० भन्दा बढी साक्षीसँग कुरा गरेका थिए ।

उक्त छानबिनमा यस्ता घटनाको प्रमाण पनि फेला परेका छन् । अस्ट्रेलियाले आफू ’न्याय सुनिश्चित’ गर्न प्रतिबद्ध भएको आश्वासन दिएको अफगानिस्तानले जनाएको छ । घटनामा २५ सैनिकहरू प्रत्यक्ष वा सहयोगीका रूपमा गैरकानुनी हत्यामा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ । एडीएफका प्रमुख जेनरल एङ्गस क्याप्बेलका अनुसार ती कुनै पनि घटना युद्ध चर्किएका बेला भएको भनेर मान्न सकिँदैन ।

घटना हुँदा उनीहरू कोही विषम परिस्थितिमा भएको नदेखिएको क्याप्बेलले बताए। उनका अनुसार स्पेशल एअर सर्भिस (एसएएस) का केही सैनिकले कानुन उल्लङ्घन गरेको पाइएको छ । उक्त छानबिन गोप्य रूपमा गरिएको थियो र यसअघि निकै कम जानकारी मात्र उपलब्ध गराइएको थियो ।

अफगान राष्ट्रपतिको कार्यालयका अनुसार प्रतिवेदन सार्वजनिक भएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले फोन गरेर दुःख प्रकट गरेका थिए । तर अफगानिस्तानले औपचारिक रूपमा कुनै टिप्पणी गरिसकेको छैन । गत साता प्रधानमन्त्री मरिसनले प्रतिवेदनमा भएको विवरणअनुसार कानुनी कारबाही गर्न एक विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने बताएका थिए ।

स्थानीय सञ्चारमध्यमका अनुसार मुद्दा चलाउनुअघि प्रहरी अनुसन्धानका लागि वर्षौँ लाग्न सक्छ । जेनरल क्याम्पबेलका अनुसार एसएएसको एउटा एकाइ बन्द गरिएको छ। सबै कुरा यथोचित रूपमा गर्नु एडीएफको जिम्मेवारी भएको उनको भनाइ छ ।

सरकारले ’एडीएफको संरचनाबाहिर उत्तरदायित्व र पारदर्शिता’ कायम गर्न एउटा स्वतन्त्र निरीक्षण समिति स्थापना गरिने बताएको छ । अस्ट्रेलियाले अफगानिस्तानमा शान्ति स्थापनार्थ चार सय सैनिक पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *