कोरोना संक्रमण बढेपछि अमेरिकाको न्यूयोर्कका विद्यालय बन्द

अमेरिकामा फेरि एक पटक देशैभरि गम्भीर रूपमा फैलिइरहेको कोरोना संक्रमणका कारण हालसम्म दुई लाख पचास हजार जनाभन्दा बढीको ज्यान गएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।

कोरोनाभाइरसका कारण अमेरिकामा भएको मृत्यु र सङ्क्रमण विश्वका अन्य कुनै देशहरूमा भएको भन्दा बढी हो । अहिले त्यहाँ पुनः एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धिमा नयाँ कीर्तिमान कायम भइरहेको छ ।

देशका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले देश एकदमै महत्वपूर्ण समयमा गलत दिशामा गइरहेको बताएका छन् । गत वसन्त ऋतुमा अमेरिकामा कोरोनाभाइरसको केन्द्र रहेको न्यूयोर्क शहरले सङ्क्रमण बढ्ने अनुमानका साथ बिहीवारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ ।

अधिकारीहरूका अनुसार भाइरस सङ्क्रमण दर जाँचको तीन प्रतिशतभन्दा बढी भएपछि अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक विद्यालय प्रणाली बन्द गर्ने निर्णय गरिएको हो । यसले तीन लाख बालबालिकालाई असर पर्नेछ। त्यहाँ रेस्टुराँ र जिमखाना भने खुला रहेनछन् । कक्षाकोठाहरूमा भएको सङ्क्रमण निकै कम देखिएकाले अहिलेको सङ्क्रमण वृद्धि विद्यालयका कारण चाहिँ नभएको बताएका छन् । फाउचीले नयाँ सङ्क्रमण बढेसँगै मृतकको सङ्ख्या थपिन सक्ने चेतावनी दिएका छन् ।

उनले अहिले आफूहरू एकदमै गम्भीर स्थितिमा रहेको बताए । उनले मानिसहरूलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न पुनः आह्वान गरेका छन् । खोप विकास नहुन्जेलसम्म यस्ता सुरक्षात्मक उपाय अपनाउन उनको आग्रह छ ।

बुधवार फाइजर र बायोएनटेकले सार्वजनिक गरेको विवरण अनुसार उनीहरूले विकास गरेको खोपले ६५ वर्ष माथिका मानिसहरूमध्ये ९४ प्रतिशतलाई भाइरसबाट जोगाउने देखिएको छ । गत साता फाइजर र बायोएनटेकले प्रारम्भिक विवरण दिँदै उनीहरूले विकास गरेको खोपले ९० प्रतिशत काम गर्ने र त्यसबाट कुनै स्वास्थ्य सुरक्षासम्बन्धी खतरा नहुने जनाएका थिए। ।

अमेरिकी कम्पनी मोडेर्नाले पनि उसले विकास गरेको खोपले ९५ प्रतिशत सुरक्षा दिने जनाएको थियो । रुसमा विकास गरिएको अर्को एउटा खोपले पनि त्यस्तै सुरक्षा दिने दाबी गरिएको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठनले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका बीस प्रतिशत जनसङ्ख्यामा कोभिड १९ विरुद्ध खोप लगाउनका लागि दुई अर्ब डलरभन्दा बढी खर्च लाग्ने बताएको छ ।

क्षेत्रीय निकाय पान अमेरिकन हेल्थ अर्गनाइजेसनले भनेको छ, आगामी वर्षको अन्त्यसम्ममा उसले त्यस क्षेत्रमा कम्तिमा दुई अर्ब डोज खोप उपलब्ध गराउने लक्ष्य राखेको छ । यद्यपि उक्त संस्थाका एकजना प्रवक्ताले यो सबैका लागि पर्याप्त नहुने बताए । उसले खोप कार्यक्रममा सहयोगका लागि त्यस क्षेत्रका सरकारहरूसँग नजिक रहेर काम गरिरहेको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *