इराक र अफगानिस्तानबाट सेना फिर्ता नगर्न रिपब्लिकन नेताहरूको चेतावनी

वरिष्ठ रिपब्लिकन नेताहरूले अफगानिस्तान र इराकबाट सेना फिर्ता गर्ने अमेरिकी योजनाप्रति सचेत गराएका छन् । अमेरिकाले ती दुई देशमा रहेका आफ्ना सेनाको सङ्ख्या घटाएर दुई हजार पाँच सयमा सीमित गर्न गइरहेको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि सेनालाई फिर्ता ल्याउनुपर्ने आह्वान गर्दै आएका छन् । उनले अमेरिकी सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको बताउने गरेका छन् । तर आमरूपमा ट्रम्पका कट्टर रक्षकका रूपमा प्रस्तुत हुने सिनेटका प्रमुख नेता मिच मक्नेलले उक्त योजनालाई एउटा गल्ती भनेका छन् ।

उनले राष्ट्रपतिलाई पद छाड्नुअघि रक्षा र विदेश नीतिका सम्बन्धमा भूकम्प निम्त्याउने खालका परिवर्तन नगर्न चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले अझै पनि डेमोक्रेटिक जो बाइडनको जितलाई स्वीकार्न बाँकी छ । उक्त कटौती जो बाइडन ह्वाइट हाउस प्रवेश गर्नु पाँच दिनअघि आगामी जनवरीमा हुने तय भएको छ ।

मक्नेलसहित अन्य कैयौँ वरिष्ठ रिपब्लिकनले पनि सेना फिर्तीबारे चासो व्यक्त गरेका छन्। उनीहरूमध्ये केहीले त्यसो गर्नु गल्ती हुने बताएका छन् । अमेरिकी नेतृत्वको फौजले सन् २००३ मा इराक कब्जा गरेको थियो र राष्ट्रपति सद्दाम हुसैनलाई हटाएको थियो ।

सेनाले नरसंहार गर्ने अस्त्र नष्ट गरेको बताइएको थियो तर पछि त्यस्तो हतियार अस्तित्वमा नरहेको खुलासा भएको थियो । अफगानिस्तानमा भने सन् २००१ देखि अमेरिकी फौज तैनाथ छ । सन् २००१ सेप्टेम्बर ११ मा अल कायदाद्वारा अमेरिकामा गरिएको हमलाको केही सातापश्चात् अमेरिकी नेतृत्वको संयुक्त सेनाले अफगानिस्तानबाट तालिबान सत्ता अन्त्य गरिदिएको थियो ।

त्यसबेला अफगानिस्तान अल(कायदाको आधार क्षेत्रको रूपमा रहेको थियो । तालिबान पुनः सङ्गठित भयो र सन् २०१८ देखि देशको दुई तिहाइ भागमा सक्रिय रहेको छ । अमेरिकाले यसै वर्षको सुरुदेखि तालिबानसँगको शान्ति सम्झौता अनुसार आफ्ना सेना फिर्ता गर्न थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *