एपोलो पेन्ट्सको ९७ लाख रुपैयाँ चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

चितवन । प्रहरीले चितवनमा ९७ लाख रुपैयाँ चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् । उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए ।

थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए । प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टरमा कविराज बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेका अवस्थामा ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा ४० लाख गरी ९७ लाख रुपैयाँ र चोरीमा प्रयोग हुने औजारसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए । यसैबीच, चितवनमा चार दिनमा ४६ फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकी फरार रहेका व्यक्तिलाई कात्तिक २५ देखि २८ गतेसम्म पक्राउ गरिएको हो ।

चोरी, जबर्जस्ती करणी, लागुऔषध, कर्तव्य ज्यान, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्जसम्बन्धी कसुर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका ४५ पुरुष र एक महिला गरी ४६ फरार व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा बुझाइएको प्रवक्ता थापाले बताए । यसबाट सात वर्ष नौ महिना २६ दिन कैद र चार लाख आठ हजार ३११ असुलउपर भएको उनले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *