जोर्जिआमा पनि बाइडनको जित

अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले जोर्जिआ राज्य पनि जितेका छन् । सन् १९९२ पछि उक्त राज्यमा जित्ने उनी पहिलो डेमोक्रेटिक उम्मेदवार हुन् । जोर्जिआमा हातैले गनेर फेरि मतगणना गरिएको थियो । यो मतपरिणामले बाइडनको विजय फराकिलो भएको छ ।

इलेक्टरल कलेज भनिने अमेरिकी निर्वाचन प्रणालीमा अब उनको पक्षमा ३०६ मत पुगेको छ । पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले नोर्थ क्यारलाइनामा जित्ने प्रक्षेपण गरिएको छ । त्यो हुँदा उनको २३२ इलेक्टरल मत पुग्नेछ । आफ्नो पराजय स्वीकार गर्न नमानेका ट्रम्पले पहिलो पटक जनवरीमा नयाँ सरकार आउन सक्ने सङ्केत दिएका छन् ।

कोरोनाभाइरस कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको एउटा प्रेस ब्रीफिङमा बोल्दै उनले यो प्रशासन लकडाउनमा नजाने बताए । ‘आशा गरौँ….भविष्यमा जे हुन्छ। कसलाई के थाहा कुन सरकार हुन्छ। समयले नै बताउला,’ उनले भने।

कुनै प्रमाण नदेखाई उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउने गरेका छन् । ट्रम्पलाई आफ्नो पराजय स्वीकार्न र सत्ता हस्तान्तरण गर्न तयार हुन दबाव बढिरहेको छ । बाइडनले प्राप्त गरेको इलेक्टरल मत सन् २०१६ मा ट्रम्पले हिलरी क्लिन्टनलाई पराजित गर्दा हात पारेको मत बराबर भएको छ । त्यतिबेला ट्रम्पको विजयलाई ’ल्यान्डस्लाइड’ अर्थात् ठूलो जित भनिएको थियो ।

यो मतपरिणामले बाइडनको विजय फराकिलो भएको छ । ट्रम्पले विभिन्न राज्यमा निर्वाचन प्रक्रियाविरुद्ध मुद्दा हालेका छन् । तर एरिजोनामा बाइडनको अग्रता विशाल भएकाले ट्रम्प पक्षले एउटा मुद्दा फिर्ता लिएको छ ।

जो बाइडनको विजय आधिकारिक रूपमा घोषणा हुन बाँकी नै छ । तर सत्ता हस्तान्तरणको सङ्क्रमणकालका लागि गठित उनको टोलीलाई कुनै आर्थिक सहयोग र सरकारी निकायमा पहुँच दिइएको छैन । ट्रम्प प्रशासनले सुरक्षा निकायका वर्गीकृत ब्रीफिङमा उक्त टोलीलाई सहभागी हुन नदिइँदा नयाँ प्रशासनलाई राजकाजमा समस्या पर्न सक्ने जो बाडइनकी प्रवक्ता जे पास्कीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *