आफ्नो कार्यकालको योजना बनाउँदै बाइडन

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले कोरोनाभाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका हुन् । उनको टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ ।

बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ । राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् र बाइडनको जित प्रक्षेपणमै सीमित छ ।

केही महत्वपूर्ण राज्यहरूमा मतगणना जारी छ । तर अमेरिकाका मुख्य नेटवर्कहरूले निर्वाचनमा उनी विजयी भएको भनेसँगै डेमोक्रेटिक दलका तर्फबाट निर्वाचनमा सहभागी उनी ज्यानुअरी महिनामा सत्ता सम्हाल्ने योजनासहित तयारीमा जुटेका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले पेरिस सम्झौता पुनः स्वीकार गर्नेछ । त्यस्तै अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ ।

ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ । ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन् । राष्ट्रपति निर्वाचित भएपछिको पहिलो भाषणमा शनिवार उनले यो निको हुने समय भएको बताएका थिए ।

डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले देशलाई विभाजित हैन एकताबद्ध पार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । शनिवारको सम्बोधनका क्रममा उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरेका थिए । बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ७.४ करोडभन्दा बढी मत प्राप्त गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *