राजस्थानमाथी कलकताको सनदार जित

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) को समूह चरणको आफ्नो अन्तिम खेलमा कलकता नाइट राइडर्स विजयी भएको छ । आइतबार राती भएको खेलमा कलकताले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गरेको कलकताले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९१ रन बनायो । कलकताको लागि इयोन मोर्गानले कप्तानी इनिङ्स खेल्दै ६८ रन बनाए । उनले ३५ बलमा ६ छक्का र ५ चौका प्रहार गरे । शुभ्मन गिलले २४ बलमा ६ चौकाको मद्दतमा ३६ रन बनाए । यस्तै राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र प्याट कमिङ्सले १५ रनको योगदान गरे ।

राजस्थानको लागि राहुल टेवाटियाले ४ ओभरमा २५ रन दिदै ३ विकेट लिए । यस्तै कार्तिक ट्यागीले २ विकेट लिदा जोफ्रा आर्चर र श्रेयस गोपालले १-१ विकेट लिए ।

१९२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । राजस्थानको लागि जोस बट्लर र राहुल टेवाटिया बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । जोस बट्लरले २२ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३५ रन बनाए । राहुलले २७ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए । बेन स्टोकले १८ र श्रेयसले २३ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन नसकेपनी राजस्थान हार बेहोर्न बाध्य भएको हो ।

कलकताको लागि प्याट कमिङ्सले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । यस्तै शिभम माभी र वरुन चक्रवर्तीले २-२ विकेट लिदा कम्लेश नगरकोटीले एक विकेट लिए ।

जितसँगै कलकताले प्लेअफमा पुग्ने सम्भावना थप बलियो बनाएको छ । मंगलबार हुने खेलमा मुम्बई इन्डियन्सले हैरबादलाई पराजित गरेको खण्डमा कलकता प्लेअफ पुग्ने छ । राजस्थान भने तालिकाको पुछारमा रहेको लिगको अन्त्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *