मनाङ । संस्कृति, पर्यटन तथा उड्डनमन्त्री योगेशकुमार भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचोलगायत अन्य पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गरेका छन् । काठमाडौँबाट हेलिकप्टर चार्टर गरी यहाँ आइपुगेका मन्त्री भट्टराईले तिलिचो स्वर्गको टुक्रा रहेको बताए ।
उनले स्थलगत अवलोकनका क्रममा थप पर्यटन प्रबद्र्धनका लागि पूर्वाधार विस्तार गर्न तत्काल केही कदम चालिने बताए । उनले एग्रो मनाङ प्रालिको पनि भ्रमण गरे । सात सय ३५ रोपनी क्षेत्रफलको स्याउबारीबाट उत्पादित स्याउ हाल वर्षमा करीब पाँच लाख बिक्री गरिन्छ ।
केही वर्षपछि करीब २० लाख उत्पादन र बिक्री गर्न सक्ने क्षमता हिमालय स्याउ फार्ममा छ ।सांसद पोल्देनछोपाङ गुरूङको नेतृत्वमा स्याउ प्रवद्र्धन भइरहेको जनाइएको छ । अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाको काखमा रहेको मनाङ भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।
उनीसँगै सांसद गुरुङ, प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, स्थानीय जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रहरी नायब उपरीक्षक मेखबहादुरलगायत सहभागी भएका थिए ।