प्याज तस्करसँगको झडपमा बारामा गोली चल्यो, एक बालकसँगै तीन प्रहरी घाइते

  • 3
    Shares

वीरगन्ज । बारामा तस्करलाई सघाउने स्थानीय र प्रहरीबीच भएको झडपमा गोली लागेर एक बालक गम्भीर घाइते भएका छन् । सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगोठमा बुधबार बेलुकी प्रहरीले चलाएको गोली लागेर स्थानीय चन्देश्वर यादवका छोरा १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका हुन् ।

झडपमा स्थानीयको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरीसहित तीन जना प्रहरी पनि घाइते भएका छन् । गिरीसँगै एक जना हवल्दार र एक जना जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए ।

भारतबाट राजश्व छलेर ल्याइएका आठ बोरा प्याजसहितका ४ वटा मोटरसाइकल सोमबार साँझ इलाका प्रहरी कार्यालय कबहीगोठले नियन्त्रणमा लिएको थियो । कबहीगोठ प्रहरीले नियन्त्रणमा लिएको तस्करीको प्याज बुधबार बेलुकी कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्कर र स्थानीयले प्रहरीमाथि आक्रमण गर्दै प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि झडप भएको बताइएको छ ।

स्थिति निन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा सडक छेउमा बसेका रन्जनको टाउकोमा गोली लागेको हो । प्रहरी निरीक्षक यादवले भने स्थिति निन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गर्दा हुलुमुलमा परेका बालक रन्जनलाई गोलीको छर्रा लागेको बताएका छन् ।

टाउकोमा गोली लागेका रन्जनको वीरगन्जस्थित नारायणी बयोधा अस्पताल र तीनै जना प्रहरीको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये गिरीको अवस्था भने गम्भीर रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् ।

 


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *