मर्दी हिमालको ‘हाइक्याम्प’मा फोन र इन्टरनेट

कास्की । नेपाल टेलिकम पोखराले कास्कीको चर्चित मर्दी हिमाल पदयात्रामा फोन र इन्टरनेट सेवा विस्तार गरेको छ । माछापुच्छ«े गाउँपालिका–९ स्थित तीन हजार ५५० मिटरको उचाईको ‘हाईक्याम्प’मा टावर स्थापना गरी फोन र इन्टरनेट सेवा शुरु गरिएको नेपाल टेलिकम पोखराका कार्यालय प्रमूख नरेन्द्रमान सिँह महर्जनले जानकारी दिए ।

विद्युत नभएकोले सोलार प्रणालीबाट ‘टूजी’ र ‘थ्रीजी’ मोवाईल सेवा सञ्चालन गरेको र यसबाट तीव्र गतिको ईन्टरनेट चलाउन तथा कुराकानी गर्न सकिनेछ । त्यहाँ ‘ओम्नी एन्टेना’ जडान गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दछ मर्दी हिमाल पदयात्रा । समुन्द्री सतहबाट चार हजार ५०० मिटरको उचाइमा अवस्थित मर्दी हिमालको आधारशिविर पदयात्राको अन्तिम गन्तव्य हो ।

मर्दी पदयात्रामा टेलिकमको सेवा विस्तारसँगै विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर र माछापुच्छे नमूना पदयात्रामा जाने पर्यटक लाभान्वित हुने सोही क्षेत्रमा पर्यटन व्यवसायमा आवद्ध सुदीप गौतम बताउँछन् ।

पोखरा बजारदेखि उत्तरतर्फको मर्दी हिमालको काखसम्म पुग्न माछापुच्छ्रे–९ सिदिङसम्म जीपमा पुग्न सकिन्छ जहाँबाट पैदलयात्रा शुरु हुन्छ । पोखराबाट पाँचदेखि ६ दिनको प्याकेजमा मर्दी बेसक्याम्प पुगेर फर्किन सकिन्छ ।

हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीको दृश्यावलोकन सहितको आनन्द लिन सकिने यो पदयात्राामा वर्षमा ४० देखी ५० हजार हाराहारीमा पर्यटक आउने गरेको पर्यटन व्यवसायी बताउँछन् । पर्यटकको आकर्षण रहे पनि सञ्चार पहुँच नहुँदा पर्यटक बाटोबाटै हराउने, गन्तव्य पहिलाउन नसक्दा अलमलिने तथा परिवारसँगको सम्पर्कबाट विमुख हुनुपर्ने बाध्यता थियो । कतिपय अवस्थामा पर्यटकको उद्धार तथा बिरामी भएमा अस्पतालसम्म लैजानलाई सम्पर्क गर्न कठिन पर्थ्यो ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ९ ले टेलिकम पोखरालाई सेवा विस्तारको अनुरोध गरेपछि वडा र टेलिकमबीच गत वर्ष सो सम्बन्धी सम्झौता भएको थियो । अब मर्दीको आधार शिविरसम्मै फोनमा कुराकानी गर्न सकिन्छ । कार्यालय प्रमुख महर्जनले भने, “उकाली,ओराली तथा बढी खोँच भएकाले राम्रो सेवाका लागि अझै केही स्थानमा टावर थप्नुपर्ने हुन सक्छ । गुणस्तर हेरेर अन्यत्र सेवा बढाउँछौँ ।” अन्नपूर्ण पदमार्गको देउरालीको सिडिएमए टावरका कारण कहिलेकाँही सो सेवा उपलव्ध रहेपनि प्रायःजसो सम्पर्क गर्न कठिनाई हुन्थ्यो ।

हालको टावर सञ्चालनबाट अन्नपूर्ण पदमार्गका कतिपय कूना काप्चाहरुमा समेत सेवा पुग्ने र सो मार्गका अन्य स्थानहरुमा यही टावरकै लिङ्क प्रयोग गरी सेवा विस्तार गर्न सकिने टेलिकमले जनाएको छ । सञ्चारको असुविधाका कारण कतिपय पर्यटकहरु पदयात्राका क्रममा बेपत्ता भएको र खोजी कार्यमा समेत कठिनाई हुने गरेको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए ।

फोन नलाग्दा पर्यटक र उनीहरुका पथप्रदर्शक तथा पर्यटन व्यवसायीबीच सम्पर्क नहुँदा कपितय अवस्थामा दुर्घटना र बिरामी पर्दा समेत समयमै उद्धारमा कठिनाई हुने गरेको बताइन्छ ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले घाम नलागेको दिनमा साँझमा फोन र इन्टरेटमा अलि समस्या आएपनि अन्य दिनमा राम्रो सेवा प्राप्त भएको बताए । समितिले हाइक्याम्पमा टेलिकमको टावर राख्नका लागि रु छ लाख लागतमा भवन निर्माण गरेको बताए । पदयात्रीको बास बस्ने अन्तिम स्थल हाइक्याम्प हो । त्यहाँबाट आठ घण्टामा मर्दीको आधार शिविर पुगेर फर्केर आउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *