प्रज्जवल थापा । बेन स्टोक्सले सतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आइपिएल) मा राजस्थान रोयल्स विजयी भएको छ । आइतबार बेलुकी भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको हो ।
सेख जायद रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको मुम्बईले पूरा २० ओभर खेल्दै ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । मुम्बईको लागि हार्दिक पाण्डयले बिस्पोटक ब्याटिङ गर्दै २१ बलमा ६० रन बनाए । उनले ७ छक्का र २ चौका प्रहार गरे । ओपनर इसान किसानले ३६ बलमा ४ चौका र १ छक्का सहित ३७ रन जोडे । यस्तै सुर्यकुमार यादवले ४०, शौरभ तिवारीले ३४ रनको योगदान गरे ।
राजस्थानको लागि जोफ्रा आर्चरले ४ ओभरमा ३१ रन दिएर २ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३० रन दिएर २ विकेट लिदा कार्तिक ट्यागीले १ विकेट लिए ।
१९६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतीमा १९६ रन बनाएर भेट्टायो । राजस्थानको लागि बेन स्टोक्सले सतक प्रहार गरे । उनले ६० बलमा १४ चौका र ३ छक्काको मद्दतमा १०७ रन बनाए । सन्जु स्यामसनले ३१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५४ रन बनाउदा रोविन उथप्पाले १३ र स्टिभ स्मिथले ११ रन बनाए ।
मुम्बईको लागि जेम्स पट्टिसनले ३.२ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । जितसँगै राजस्थान १२ खेलमा ५ जित र ७ हारसहित १० अङ्क जोड्दै छैटौँ स्थानमा उक्लिएको छ । मुम्बई ११ खेलमा १४ अङ्कको साथ शिर्ष स्थानमा यथावत छ ।