अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ । राष्ट्रपति पदका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्ध गरेको हो ।
राष्ट्रपति पदका अर्का उम्मेदवार जोन बाइडेनले भने आफू बहसका लागि तयार नै रहेको बताउदै आएका छन् । राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्नेगरी दोस्रो बहसको तयारी गरिरहेको थियो । राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएकाले दोस्रो बहस भर्चुअल रुपमा गर्ने तयारी भइरहेको थियो ।
यसअघि पहिलो बहस भौतिक रुपमै सहभागी भएर भएको थियो । सो बहसमा राष्ट्रपति ट्रम्पको प्रस्तुित फितलो भएको चर्चा चलिरहेका बेला उनले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका थिए । उनले आफू राष्ट्रपतीय बहसका लागि अनिश्छुक रहेपनि चुनावी र्यालीका लागि भने तयार रहेको शुक्रबार बताएका थिए ।
गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्पले एक हप्ता नहुदै उनले आफूलाई पूर्ण स्वास्थ्य लाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन् । उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् ।
अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख दश हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौ सङ्क्रमित भएका छन् । राष्ट्रपति ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल गएका थिए भने सोमबार निवास फर्किएका थिए ।
निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अव सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्ने बताएका छन् । उनका फिजिसियन नाभी सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिएका हुन् ।
स्थानीय समय अनुसार बिहीबार राती फक्स न्युजलाई दिएको अन्तरवार्तामा उनले शनिबार फ्लोरिडामा हुने र्यालीमा आफु सहभागी हुन चाहेको बताएका थिए ।
