हावाबाट कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि

काठमाडौँ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले हावाबाट कोरोना भाइरस सर्न सक्ने पुष्टि गरेको छ । सिडिसीले हावामा रहेको भाइरस अन्य व्यक्तिमा सर्न सक्ने सोमबार पुष्टि गरेको हो ।

संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ । सिडिसीले हावामा रहेका साना ड्रपलेट्सहरू धुवाँजस्तो लामो समयसम्म हावामा रहन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको हो । अमेरिकी वैज्ञानिकहरूको एक समूहले सोमबार मेडिकल जर्नल अफ साइन्समा प्रकाशित गरेको अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावामा रहेका भाइरसबाट बढी संक्रमण फैलिइरहेको छ ।

अनुसन्धानका अनुसार हावामा रहेका भाइरस केही सेकेन्डदेखि केही घन्टासम्म बाँच्न सक्छन् । र, हावाको माध्यमबाट दुई मिटर वा सोभन्दा बढी यात्रा गर्न सक्छन् । हावामा रहेका भाइरस उडेर इन्डोर वा कम भेन्टिलेसन भएका स्थानसम्म पुग्न सक्छन्, जुन अन्य व्यक्तिका लागि जोखिमपूर्ण हुन्छन् । पछिल्लो समय हजारौँ संक्रमितले श्वास फेर्दा वा हाछ्युँ गर्दा निस्कने एरोसेलले हावामा लाखौँको संख्यामा भाइरस हुन सक्ने र सावधानी नअपनाउँदा सजिलै स्वस्थ व्यक्तिमा सर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

सामान्यतः कस्ता ड्रपलेट्स वा एरोसोलहरू हावामा कति समय बस्न सक्छन् भन्ने तथ्यसाथ पुष्टि गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन् । चिसो स्थानमा भाइरसयुक्त पानीका थोपाहरू बढी समयसम्म हावामा रहन सक्छन् । अध्ययनका अनुसार, एकचोटि खोक्दा कम्तीमा तीन हजार र हाछ्युँ गर्दा ३० हजारभन्दा बढी पानीका थोपाहरू निस्कन्छन् । जुन हावामा मिसिन्छन्, हावाको गति बढी भएमा छोटो समयमा परसम्म पुग्न सक्छन् ।

भाइरस फैलिन मुखबाट निस्कने भाइरसयुक्त पानीको थोपाको आकार र हावाको गतिमा निर्भर रहन्छ । तसर्थ, घरबाहिर रहँदा मास्कको अनिवार्य प्रयोगसँगै भौतिक दूरी पनि कायम राख्नुपर्छ । चिकित्सकहरूले घरमा बस्दा पनि हावा स्वच्छ राख्न पर्याप्त भेन्टिलेसनको व्यवस्था गर्न आवश्यक रहेको सल्लाह दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *