एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो ।

कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ । बन्दाबन्दीकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ । कार्यालयले दूरी कायम गर्न प्रचारात्मक सामग्री टाँसेको छ भने साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेको छ । सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ ।

कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र हालका लागि स्थगन गरेको छ । कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा स्थगन छ ।

उनले प्रदेश सरकारले निर्णय नै गरेर नखुलाउँदासम्म यो सेवा तत्काल नखुल्ने बताए । काठमाडौँ उपत्यकालगायत प्रदेशभरका विभिन्न जिल्लामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले नयाँ चालक अनुमतिपत्र बन्द गरेको उनले जानकारी दिए ।

केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो । काठमाडौँ उपत्यकामा हाल चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ । सबैभन्दा बढी सेवाग्राहीको भीड भने एकान्तकुनास्थित कार्यालयमा नै देखिन्छ । अहिले पनि यहाँ खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न कठिन भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *