वन्यजन्तु र काठ चोरी तस्करीसम्बन्धी ३२ मुद्दा दायर

बारा । बाराको जङ्गलबाट अवैधरूपमा काठ र जीवजन्तुको चोरी तस्करी र ओसारपसारसम्बन्धी २२ वटा मुद्दा जिल्ला वन कार्यालय सिमराले जिल्ला अदालत बारामा दायर गरेको जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाको विभिन्न वनजङ्गल क्षेत्रबाट गिटी, बालुवा, वन्यजन्तु र काठको ओसारपसार मा ४० जनालाई पक्राउ गरी कारबाही जरिवाना एवं मुद्दा दायर गरिएको कार्यालयका योजना शाखाका अधिकृत अनिल शाहले जानकारी दिएका छन् ।

वन पैदावारको चोरी तस्करीका क्रममा ट्र्याक्टर दुई थान, मोटरसाइकल एक थान, साइकल २१ थान, बञ्चरो छ थान र काठ चिर्ने आरा मेशिन तीन थान तस्करबाट जफत गरिएको बताइएको छ । साथै गत वर्षको सो अवधिमा वन पैदावार काठ र दाउरा बिक्रीबापत रु तीन करोड १४ लाख छ हजार राजश्व सङ्कलन भएको थियो ।

साझेदारी वन, राष्ट्रिय वन तथा फास्ट ट्र्याकबाट कटान भएका रुखको काठको लिलामीबाट उक्त राजश्व प्राप्त भएको अधिकृत शाहले बताए । चालु आर्थिक वर्षको साउन तथा भदौको दुई महिनामा वन क्षेत्रको चोरी तस्करी नियन्त्रण तथा अनुगमनका क्रममा काठ र दाउराका अवैध चोरी तस्करीसम्बन्धी १० वटा मुद्दा जिल्ला अदालतमा दायर भएको कार्यालयबाट प्राप्त विवरणमा उलेख गरिएको छ । ती मुद्दामा १६ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ भएकाबाट रु तीन लाख ३३ हजार धरौटीसमेत लिएको वन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *