प्रज्जवल थापा । स्पेनिस लिगमा साविक विजेता रियल म्याड्रिडले रियल भिल्लाडोलिडमाथि संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा म्याड्रिड भिल्लाडोलिडलाई १ ० गोल अन्तरले पराजित गरेको छ । म्याड्रिडको मैदान एफ्रेडो डि स्टेफेनोमा भएको खेलमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले गोल गरे । खेलमा राम्रो पकड जमाएको म्याड्रिडले पाएको अवसर पूरा गर्न सकेनन् ।
१७ औ मिनेटमा काउन्टर अट्याकमा भालभार्डेको पासमा जोभिकले हानेको बल पोस्ट नजिकैबाट बाहियो । ३५ औं मिनेटमा लुका मोड्रीकले मिलाएको पासमा जोभिकले हानेको बल गोलको दिशा लिन सकेन । ४८ औ मिनेटमा जोभिकको हेडिङ बल विपक्षी टोलिका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
यस्तै भिल्लाडोलिडका विसमेनले हानेको बल म्याड्रिडका किपर कर्टियसले उत्कृष्ट बचाउ गरे । ६५ औं मिनेटमा म्याड्रिडका लागि भिनिसियस जुनियरले गोल गर्दै टोलिलाई खेलमा अगाडि बढाएका थिए । ६९ औं मिनेटमा भिल्लाडोलिडका गार्सियाले हानेको बल कर्टियसले बचाउ गरेपछि बराबरी गर्ने मौका चुकाएको थियो ।
७३ औं मिनेटमा रुबियोले हानेको बलमा कर्टियस बाधक बने । थप समयमा दुवै टोलिबाट गोल हुन नसकेपछि खेल म्याड्रिडले जितेको थियो । जितसँगै म्याड्रिड ३ खेलमा २ जित र १ बराबरी सहित ७ अङ्कको साथ तेस्रो स्थानमा उक्लिएको छ । यस्तै लिगको आर्को खेलमा इल्चेले इबारलाई १ ० गोलले पराजित गरेको छ ।

