डा. केसीको जीवन रक्षाका लागि कठोर कदम चाल्न बाध्य नपार्न सरकारलाई चिकित्सक संघको चेतावनी

  • 1
    Share

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई गम्भीर हुन आग्रह गरेका छ । संघका महासचिव डा. बद्री रिजालले बुधबार विज्ञप्ति जारी गरी डा. केसीका माग सम्बोधन गर्न सरकारले उदासिनता देखाएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द केसीको १९ औं पटकको सत्याग्रहको आज १७ औं दिन भइसक्दा पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. के.सी.को जीवन रक्षाका लागि कुनै पहल नगरेकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

केसीको जीवन रक्षाका लागि हुनसक्ने कार्यक्रमलाई मध्यनजर गर्दै यथाशिघ्र वार्ता टोली गठन गरी समस्या समाधान गर्न अपरिहार्य भएको संघले ठहर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल विश्वभर महामारीको रुपमा देखा परेको कोभिड–१९ को संक्रमणका कारण नेपालमा आजको मितिसम्म ४९१ जनाले मृत्युवरण गर्नु परेको एवं ७६,२५८ जना संक्रमित भईरहेको विद्यमान अवस्थामा डा. गोविन्द केसीको जीवन रक्षाका निम्ती हुन सक्ने कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथासिघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा उत्पन्न समस्याको समाधान गर्न अपरिहार्य भएको नेपाल चिकित्सक संघको ठहर छ । डा. केसीको जीवन रक्षाका निम्ती नेपाल चिकित्सक संघले कठोर कदमहरु चाल्ने गम्भीर परिस्थिति सिर्जना नगर्न र यस संघ वार्ताका निम्ती सहजीकरणको भूमिका निर्वाह गर्न समेत तयार रहेको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

केसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा अनसनमा छन् । जुम्लामा आमरण अनसन सुरु गरेको केसी गत साता काठमाडौं आएका हुन् । सुरुमा राष्ट्रिय ट्रमा सेन्टर लगिएका केसीले आफू शिक्षण अस्पताल जाने अडान लिएपछि पछि शिक्षण अस्पताल लगिएको थियो । केसीको पक्षमा काठमाडौं लगायत विभिन्न जिल्लामा धर्ना र प्रदर्शन हुँदै आएका छन् ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *