पुथाउत्तरगङ्गा गाउँपालिकाका सबै विद्यालयमा कोरोना फोकल पर्सन

रुकुम । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

कोरोना महामारीको यो अवस्थामा विद्यालय खोलेर विद्यार्थीको नियमित पठनपाठन अगाडि बढाएको गाउँपालिकाले कोरोना जोखिमलाई कम गर्न विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । प्रदान गरिने स्वास्थ्य सामग्रीमा सेनिटाइजर, मास्क र हात धुने साबुन रहेको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिइन् ।

गाउँपालिकाका १४ वटा वडाले एक–एक लाख जम्मा गरी १४ लाखमा स्वास्थ्य सुरक्षाका सामग्री खरिद गरेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ती स्वास्थ्य सामग्री विद्यालयमा शिक्षक, शिक्षिका र विद्यार्थीले प्रयोग गर्नेछन् । यही असोजको १ गतेबाट विद्यालय खालेको गाउँपालिकाले विद्यार्थीको नियमित पठनपाठनलाई अगाडि बढाउन थालेको छ ।

गएको वर्ष चैत ११ गतेबाट बन्द भएका शैक्षिक संस्था अझै खुल्न नसक्दा विद्यार्थी समस्यामा छन् । विद्यार्थीको शैक्षिक सत्रलाई खेर जान नदिन भन्दै गाउँपालिकाले कार्यपालिका बैठकबाट असोज १ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार नै अहिले स्वास्थ्य सुरक्षाका मापदण्डपालन गर्दै विद्यालय खोलेको गाउँपालिकाका उपाध्यक्ष शाहीले बताइन् ।

प्रत्येक विद्यालयमा एकजना शिक्षकलाई अनिवार्य रुपमा कोरोना फोकल पर्सन (स्रोत व्यक्ति) तोकेर जिम्मेवारी दिनुपर्ने व्यवस्था गरिएको छ । ती स्रोत व्यक्तिले आफ्नो विद्यालयमा रहेका विद्यार्थीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी राख्ने र कोही बिरामी भएमा तत्कालै गाउँपािलकालाई जानकारी गराउनुपर्ने निर्णय गरिएको उपाध्यक्ष शाहीको भनाइ छ ।

गाउँपालिकाभर अहिले ४४ वटा विद्यालय रहेका छन् । गाउँपालिकाको केन्द्र नजिकै रहेका तीन वटा विद्यालयमा भने तत्कालै पठनपाठन सञ्चालन नगरिने उपाध्यक्ष शाहीले बताइन् । ती विद्यालय क्वारेन्टिनको रुपमा प्रयोग भएकाले केही समय पछाडि मात्र त्यहाँ पठनपाठन सुचारु गरिने उपाध्यक्ष शाहीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *