सामाजिक वहिस्कार गरेको आरोपमा पाँच जना पुर्पक्षका लागि कारागार चलान

चरिकोट । बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार भएको थुनछेक बहसपछि विगु गाउँपालिका–५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागारमा थुनामा पठाइएको हो ।

सामाजिक वहिस्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका छ मध्ये पाँच जना कारागार चलान भएका छन भने प्रेमबहादुर गुरुङलाई तीन लाख धरौटी तोकिएको छ ।

उनीहरुलाई प्रहरीले असोज ७ गते आफ्नै घरबाट पक्राउ गरेको थियो । पक्राउ परेको उनीहरु विगु गाउँपालिका–५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै सामाजिक वहिस्कार गरेको थियो ।

स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक वहिस्कार गर्ने निर्णय गर्दै ती दम्पत्तीमाथि दुव्र्यवहार गरेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनामध्ये आठ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने बाँकीलाई धरौटी र साधारण तारेखमा राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *