नेपालबाट चीन पुग्यो कोरोना भाइरस

काठमाडौँ । लामो समय नेपालमा बसेका दुई चिनियाँ नागरिकमा चीन पुग्नेबित्तिकै कोरोना भाइरस (काेभिड १९)काे संक्रमण पुष्टि भएको छ । काठमाडौँबाट उड्नुअघि तीन दिनको म्याद भएको पीसीआर नेगेटिभ रिपोर्ट पेश गरेको भए पनि स्वदेश पुगेको भोलिपल्टै ज्वरो आएपछि गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

काठमाडौँबाट चिनियाँ भाषामा सञ्चालित नेपाल एक्सप्रेस (निपोअर ख्वाइस्यून) ले जनाएअनुसार संक्रमित दुबै पुरुष आइतबार एअर चाइनाकाे काठमाडौँ छन्तु नियमित उडान सीए४३८ बाट स्वदेश पुगेका थिए । छन्तु पुग्दाको दिन स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिए पनि भोलिपल्ट उनीहरु दुबैलाई ज्वरो आएको थियो । कोरोना पुुष्टि भएपछि उनीलाई आइसोलेनमा उपचारको लागि अस्पताल भर्ना गरिसकिएको बताइएको छ ।

संक्रमितमध्ये ५४ वर्षीय वाङ्ग मौमौ डेढ वर्षअगाडि काम गर्न र २६ वर्षीय छन मौमौ पर्यटकको रुपमा पाँच महिनाअगाडि मात्रै नेपाल आएका थिए । आइतबार नै छन्तु पुगेका उनीहरुमा सोमबार गरिएकाे परीक्षणबाट संक्रमण पुष्टि भएकाे थियो । स्थानीय सरकारले मंगलबार मात्रै उनीहरुको यात्रा विवरणसहितको जानकारी सार्वजनिक गरेको थियो ।

नेपालको पीसीआर परीक्षणको गुणस्तर र रिपार्टमाथि प्रश्न उठाउने ठाउँ भए पनि परीक्षणपछि उनीहरु संक्रमित भएको हुनसक्ने उक्त संचारमाध्यमले जनाएको छ । कारण जे भए पनि नेपालमा कोरोना भाइरसको महामारी डरलाग्दो अवस्थामा रहेको संकेत गर्दै चिनियाँ नागरिकहरुलाई सतर्कता अपनाउन उसले सुझाएको छ । चीनले काठमाडौँ उपत्यकाका स्टार, ह्याम्स र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलका पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिने भन्दै नेपालबाट चीन जान चाहनेले तीमध्ये कुनै एकमा परीक्षण गराउन कडाइकासाथ निर्देशन दिएको छ ।

काठमाडौस्थित चिनियाँ दूताबासले पनि सोमबार कोरोना भाइरसको महामारी नेपालमा यथावत रहेका उल्लेख गर्दै उसका नागरिकलाई नेपाल सरकारले लागू गरेको निषेधाज्ञाको पूर्णरुपमा पालना गर्दै सचेत र सुरक्षित रहन चिनियाँ भाषामै फेरि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *