कोरोनाका कारण समग्र पर्यटन क्षेत्रबाट नेपाललाई लाभ

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण नेपाल भ्रमणमा आउने विदेशी पर्यटकबाट हुने आम्दानी गुमाए पनि समग्र पर्यटन क्षेत्रबाट पछिल्लो आर्थिक वर्ष (आव)मा मुलुकलाई फाइदा भएको छ । अगिल्लो आवकाे तुलनामा विदेशी पर्यटकबाट आउने आम्दानीमा १५ अर्बले कमी आए पनि नेपालबाट भ्रमणका लागि बाहिरिने करिब ३७ अर्ब रुपियाँ बचेको छ ।

गत आर्थिक वर्षमा नेपालबाट भ्रमणका लागि ५३ अर्ब १३ करोड रुपियाँ मात्र बाहिरिएको छ । आव २०७५/७६ मा यही शीर्षकमा ८९ अर्ब ९० करोड रुपियाँ नेपालबाट बाहिरिएको थियो । भ्रमणबापत नेपालमा भित्रने रकमभन्दा बाहिरिने रकम बढी भएको अवस्थामा गत आवमा भने सात अर्ब रुपियाँभन्दा बढी रकम नेपालले यात्राबापत लाभ प्राप्त गरेको छ ।

पर्यटन क्षेत्र ठप्प भएपछि बाह्य पर्यटकबाट हुने वार्षिक आम्दानीमा १५ अर्ब रुपियाँले घटेको राष्ट्र बैंकले जनाएकाे छ । गत आर्थिक वर्षमा नेपाल भित्रिने पर्यटकबाट ६० अर्ब ८८ करोड रुपियाँ बराबरको आम्दानी भएको थियाे । यो आम्दानी अगघिल्लो आर्थिक वर्षको तुलनामा १९ प्रतिशत अर्थात् करिब १५ अर्ब रुपियाँले कम हो । नेपालले त्यतिबेला ७५ अर्ब ३७ करोड रुपियाँ आम्दानी उक्त शीर्षकमा गरेको राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषणबापत पनि नेपालले अनुमानितभन्दा धेरै गुमाउनु नपरेको अवस्थामा यी सबैको फाइदा शोधनान्तर स्थितिमा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार गत आवमा नेपालको शोधनान्तर अवस्था (बाहिरिनेभन्दा भित्रिने रकम) दुई खर्ब ८२ अर्ब रुपियाँले बचतमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *