रक्सीले मातेका सभापति बस्नेतले गरे कर्मचारीमाथि कुटपिट

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ का सभापति बालकृष्ण बस्नेतले मादक पदार्थ सेवन गरी बाह्रविसे बजारको चण्डेश्वरी चोकमा नगरपालिका कर्मचारी लालबहादुर तामाङलाई कुटपिट गरेका छन् । कर्मचारीमाथिको कुटपिटले बाह्रविसे बजार आतंकित बनेको बताइएको छ ।

बजारबाट भागेर ज्यान जोगाएका कर्मचारी तामाङलाई बस्नेतले नगरपालिकासम्म लखेटेका थिए । रक्सीले मात्तिएका सभापति बस्नेत बा १३ च ७८८५ नम्बरको गाडीमा आएको स्थानीयले जानकारी दिएका छन् ।

रक्सीले मात्तिएका सभापति बस्नेतले बाह्रबीसेमा आतंक मच्चाएर नपुगी नजिकैको जुरेमा पुगेर एउटा मालवाहक टिपर तोडफोडसमेत गरेका छन् । बा ३ क ३४२९ नम्बरको टिपर बस्नेतले ढुँगामुँडा गरेर तोडफोड गरेको क्रसर सञ्चालकले जानकारी दिएका छन् ।

कोरोनाले सिंगो जिल्ला लकडाउन भएको समयमा मादक पदार्थ सेवन गरेर नगरबासीलाई आतंकित गर्ने बस्नेत कांग्रेस केन्द्रीय सदस्य एवम पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका भाइका छोरा हुन । आफ्नै माइला बुबाको आसौमा केश मुण्डन गरेका बस्नेतले दिउँसै मादक पदार्थ सेवन गरी कुटपिट गरेको र सुरक्षा गरी पाउँ भन्दै तामाङले इलाका प्रहरी बाह्रविसेमा जाहेरी दिएका छन् । क्षेत्रीय सभापति बस्नेत बाह्रविसे नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी समेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *