लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, २३ अझै बेपत्ता, १७२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २३ जना बेपत्ता छन् ।

लिदी पहिरोमा ३८ जना हराइरहेका भनिए पनि थप एक जना पनि हराएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । नेपाली सेना, प्रहरी र स्थानीयवासीले पहिरो हटाएर शव निकालेका हुन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् । त्यस्तै माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ र कविर दोङको पनि पहिरोमा परी मृत्यु भएको छ । पहिरोमा परी घाइतेहरु रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरिङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायीरूपमा नजिकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल यो कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । त्यस्तै दीर्घकालीनरूपमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उहाँले बताए । वाग्मती प्रदेश सरकारले बाढीपीडितलाई सुरक्षित स्थानमा पूरै घर प्रदेश सरकारले नै निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *